पोखराको मेक्सिकन ‘अगाभे’ ले मनायो वार्षिकोत्सव

समाधान संवाददाता २०८२ असोज ९ गते १९:१५

पोखरा । पोखराको एकमात्र मेक्सिकन रेष्टुरेण्ट ‘अगाभे मेक्सिकन रेष्टुरेन्ट एण्ड तकिला बार’ले पहिलो वार्षिकोत्सव मनाएको छ । लेकसाइडस्थित अगाभेले स्थापनाको एक वर्षमा पोखरा भित्रिएका विदेशी पर्यटकलाई पस्केको स्वादले कमाएको चर्चाले स्वदेशी पर्यटकलाई पनि उत्तिकै लोभ्याएको प्रबन्ध निर्देशक अमृत गुरुङ बताउँछन् ।

‘पोखरामा मेक्सिकन रेष्टुरेन्ट नै किन ?’ भन्ने प्रश्नमा अमृत भन्छन् ‘म हंगकंग बस्दाखेरि बनाएको योजना हो, आफ्नै ठाउँमा नयाँ स्वादको रेष्टुरेन्ट खोल्ने योजना साँचिरहेको थिए ।’ हंगकंगको पर्यटन उद्योगमा २ दशक बढी बिताएका गुरुङले करिब १० वर्ष अघि नै पोखरा फर्किएर मेक्सिकन रेष्टुरेन्ट खोल्ने योजना बनाएका रहेछन् । जसलाई भूकम्पले तुहाइदियो । पुनः रेस्टुरेन्ट खोल्न पोखरा आएकाबेला कोभिडको लहर चलेपछि दोस्रो पटक पनि ‘ब्याडलक’ भएको उनले सुनाए ।

त्यसपछि भने अगाभे स्थापना गर्न सफल भएको सुनाउँदै उनले वर्ष दिन पुरा भएपछि प्राप्त गरेको हौसलाले कर्ममा निरन्तर लाग्ने साहस आएको बताए । ‘विदेश जति बसे पनि देश फर्कनु त थियो नै’ अमृत भन्छन् ‘उमेरमै फर्किएर थोरै भएपनि आफ्नो माटोमा योगदान दिने सोंच थियो, त्यही पुरा गर्दैछु ।’ लाहुरे परिवारका अमृत व्यवसायमा लाग्न भने हंगकंगबाटै प्रेरणा पाएको भन्दै पोखरा पनि विश्वमै चिनिएको पर्यटकीय सहर भएकाले रेष्टुरेन्ट सुरु गरेको बताउँछन् ।

Advertisement

करिब ३ करोड रुपैयाँको लगानीमा खोलिएको रेष्टुरेन्टमा मेक्सिकन खाना बनाउने सेफ हंगकंगबाट ल्याएको बताउँछन् । ‘मेक्सिकन खानाको सेफ नेपाली नै हुन्, तर हंगकंगमै उनी कार्यरत थिए’ अमृतले भने ‘अगाभेमा हाल १७ कर्मचारी रहेका छन् ।’

मेक्सिकन खानाको मौलिक स्वाद पस्किने दाबी गरेका अमृत रेष्टुरेन्टमा आएका पाहुनाको संख्या र सन्तुष्टीले स्वयं प्रमाणित गरेको जनाउँछन् । ‘अहिले त नेपालीहरु पनि यहाँको मेनुसँग परिचित भइसकेका छन्, अझ रैथाने सामग्री मिलाएर बनेको तकिला यहाँको बेस्ट हो’ अमृतले बताए ।

Advertisement

अगाभेको अर्थ सोध्दा उनले भने ‘यो क्याक्टस समूहको वनस्पति हो, जसलाई टकिलाको कच्चा पदार्थ भनेर बुझ्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया