दुई दिनपछि नारायणगढ–मुग्लिन सडक खुला, सयौँ सवारी साधन गन्तव्यतर्फ

समाधान संवाददाता २०८२ असोज १० गते ६:४०

पोखरा । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको ठुलो पहिरो पन्छाएसँगै दुई दिनपछि सडक सञ्चालनमा आएको छ । मङ्गलबार अपराह्न करिब ४ः३० बजेदेखि अवरुद्ध भएको सडक बुधबार राति पन्छाएपछि बिहीबार बिहानदेखि दुईतर्फी आवागमन सहज भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार लगातारको वर्षा र ठूलो परिमाणको माटो–ढुंगाको थुप्रोका कारण पहिरो पन्छाउन कठिनाइ भएको थियो । उनले भने, ‘दुई दिन निरन्तरको प्रयासपछि मात्र सडक सञ्चालनमा ल्याउन सकिएको हो ।’

Advertisement

सडक खुलेसँगै मङ्गलबारदेखि विभिन्न स्थानमा अड्किएका सयौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् । यात्रुहरूले लामो समय सवारी साधनमा पर्खनु परेको र अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित भएको थियो ।

यो सडक खण्ड हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने भएकाले सडक अवरुद्ध हुँदा यात्रु मात्र होइन, व्यापारी र व्यवसायीहरू पनि समस्यामा परेका थिए । विशेषगरी मालबाहक सवारीसाधन एक सातादेखि अवरुद्ध भइरहेका थिए भने यात्रुवाहक केही सवारी मात्र आंशिक रूपमा सञ्चालन भइरहेका थिए ।

Advertisement

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा मङ्गलबार दिउँसो खसेको पहिरोले करिब दुई सय मिटर सडकै थुनिएको थियो । रातभर लगातार खसेको ढुंगा र लेदोले सुरक्षाकर्मी र सडक विभागको टोलीलाई काम गर्न कठिन बनाएको थियो ।

तपाईको प्रतिक्रिया