ज्याला नपाएका बेनी–जोमसोम सडकका मजदुर धर्नामा

समाधान संवाददाता २०७६ पुष १७ गते १३:०४

राकेश शर्मा
म्याग्दी

बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुर ज्याला नपाएपछि धर्नामा बसेका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरमा पर्ने आयोजनामा लामो समयसम्म ज्याला नपाएपछि मजदुर आन्दोलित भएका हुन् । सडक आयोजनाको ठेकेदार कम्पनीले मजदुर र सहायक ठेकेदारलाई महिनौंसम्म ज्याला नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन्् । गलेश्वरदेखि नारच्याङ पुल खण्डको पहिलो प्याकेजको ठेकेदार कम्पनी शर्मा–युनाइटेडविरुद्ध मजदुर आन्दोलित भएका हुन् । उक्त निर्माण कम्पनीले लामो समयसम्म पारिश्रमिक नदिएपछि आफूहरु बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

पीडित मजदुरलाई ज्याला दिन गरेको प्रतिबद्धता कार्यान्वयन नगरेपछि नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को नेतृत्वमा मंगलबार युनाइटेड कम्पनीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङस्थित साइट कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि मजदुरले ज्याला नदिने ठेकेदारविरुद्ध नाराबाजी गर्दै भुरुङ तातोपानीसम्म जुलुस प्रदर्शन गरेका थिए । पीडितमध्येका वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालयमा ११ देखि २ बजेसम्म धर्ना बसेको बताए । ‘ठेकेदार कम्पनीले ज्याला दिन पटक पटक गरेको सहमति र सम्झौता कार्यान्वयन गर्नुको साटो ६ महिनासम्म झुलायो,’ उनले भने, ‘काम गरेको ज्याला दिलाउन आयोजना र स्थानीय प्रशासनसमेत उदासीन देखिएकाले बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’ थापाले भने, मजदुरलाई ज्याला नदिएसम्म आन्दोलन गरिरहन्छौ ।

Advertisement

९ जना सब कन्ट्रयाक्टरमार्फत परिचालित २ सय ५ जना मजदुरलाई युनाइडेट कम्पनीले ज्यालाबापत् १ करोड १२ लाख ५० हजार ७२ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताए । रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट आएका मजदुर ज्याला नपाएपछि रित्तै फर्किएका छन् । गाउँका मजदुर ल्याएर काममा लगाएका सब कन्ट्रयाक्टर ज्याला दिलाउन नसकेपछि समस्यामा परेका छन् । गत मंसिरदेखि असार महिनासम्म काम गरेका मजदुर ज्याला नपाएपछि रित्तो हात घर फर्किएका थिए । गत साउनमा कार्यालयमा तालाबन्दी गरेपछि १९ लाख रुपैयाँ भुक्तानी दिएको थियो ।

पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा युनाइटेड कम्पनीका सञ्चालक शकुन्तलाल हिराचनले पुस १० गतेसम्म बाँकी सबै ज्याला भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । कोमबहादुर बुढालाई ३० लाख ४३ हजार ८ सय २२, भदे बुढालाई २५ लाख ३७ हजार ४ सय ८९, लोकेन्द्र बुढालाई २७ लाख २० हजार ३ सय ९० र लालबहादुर बुढालाई १ लाख ८८ हजार ३ सय रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Advertisement

मेखबहादुर गर्बुजालाई १० लाख ७२ हजार ३ सय १६, वेदबहादुर थापालाई धरौटी ३ लाख ८८ हजार ६ सय ६१ र ज्याला ११ लाख ६७ हजार ५ सय ७४, सुनील थापालाई ७ लाख ७५ हजार ६ सय, सन्चबहादुर तामाङलाई ३ लाख ८५ हजार र सेतीराम बोहोरालाई ८ लाख ७१ हजार भुक्तानी नदिएको आरोप लगाएका छन् । । ‘आज दिन्छु, भोलि दिन्छु भनेर झुलाएर हैरान बनायो,’ कोमबहादुर बुढाले भने, ‘बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो । काम गरेको ज्याला देऊ भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखपूर्ण छ । युनाइटेडका ठेकेदारले हामीलाई चौपट बनायो ।’ उनले भने, ‘अब त खाने खर्च पनि छैन, यो जाडोमा एकसरो लुगा लगाएर कसरी बस्ने हो ?’

ज्याला भुक्तानीका लागि पटक पटक अनुरोध गरिएको र सहमति कार्यान्वयन नगरेपछि आन्दोलनमा जानु परेको जिफन्ट जिल्ला अध्यक्ष बालादेवी राईले बताए । ज्याला नपाएसम्म आयोजनाको काम ठप्प पार्ने मजदुरले चेतावनी दिएका छन् । उनीहरुले बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा यसअघि ज्याला उपलब्ध गराउन उजुरी गराएका थिए । प्रशासन र प्रहरीसँगको छलफलका क्रममा कम्पनीका प्रतिनिधिले ज्याला उपलब्ध गराउने लिखित प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा उदासीनता देखाए । कम्पनीका आयोजना व्यवस्थापक बलराम अर्यालले सडक विभागले गरेको कामको भुक्तानी नदिएकाले समस्या भएको बताए । अतिरिक्त कामको मूल्यांकन भएर भुक्तानीको प्रक्रियामा रहेकाले सडक विभाग र आयोजनाले भुक्तानी दिँदाबित्तिकै तिर्नुपर्ने रकम तिरिहाल्ने उनले बताए । यही हप्ताभित्र भुक्तानी दिने भएकाले १ हप्ता पर्खन आग्रह गरे पनि आन्दोलनमा उत्रिएको सुन्दा दुख लागेको अर्यालले बताए । शर्मा–युनाइटेडको खण्डमा कामको प्रगतिसमेत सुस्त छ । अपेक्षाकृत काम हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले ठेकेदारका प्रतिनिधिलाई मजदुरको ज्याला दिन ताकेता गरिएको बताए ।

३ वर्षको बच्चा च्यापेर आन्दोलनमा
रोल्पाको सुनछहरी गाउँपालिकाकी दिलकुमारी बुढाको खेतमा ३ महिनालाई पुग्ने अन्न फल्दैन । गर्जाे टार्न छोरा जन्मिएको ६ महिनामै सडकमा काम गर्न आइन् । बिहानदेखि बेलुकीसम्म काम गर्ने, समय–समयमा साइटमै छोरालाई दुध खुवाउने गरेकी बुढाले सुत्केरी अवस्थामा पनि ज्यालामजदुरी गरेकी थिइन् । खेतबारीमा अन्न नफल्ने, फलेको अन्नले वर्षभरि नपुग्ने भएपछि छोरालाई सडकमा मजदुरी गर्न आएकी बुढाले १ वर्षको ज्याला पाएकी छैनन् । ‘पैसा कमाउन आएको ज्याला नपाएपछि ऋणमा डुबेको छु,’ ३ वर्षे छोरा बोकेर प्रशासन अघि धर्नामा रहेकी उनले भनिन्, ‘मैले तलबसुविधाका लागि धेरै ठाउँमा छोरो च्यापेर पुगेको छु ।’ बालबच्चालाई खुवाउने भातसमेत नभएपछि बाध्य भएर आन्दोलित हुनपरेको उनले सुनाइन् । उनले कम्पनीबाट धेरै पटक अघोषित धम्कीसमेत आएको बताउँदै आफ्नो ज्याला पाए नयाँ काम खोज्ने बताइन् । ‘चाडपर्वमा रित्तै घरमा जानुपर्यो, सडकमा धेरैले काम गर्दै आँसु बगाउने गरेका छन्,’ उनले भनिन् । श्रीमानसँगै आएका महिलाले बालबालिकासमेत लिएर आएको बताउँदै बालबालिकालाई खुवाउने खानासमेत नभएर भोकभोकै भएको गुनासो गरिन् ।

तपाईको प्रतिक्रिया