अब बढीमा १५ सय डलर मात्र नगद राख्न पाइने, ५ हजारभन्दा बढी ल्याए घोषणा गर्नैपर्ने

काठमाडौं । अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलर वा त्यस बराबरको मात्र विदेशी मुद्रा नगद राख्न पाइने नियम लागू गरेको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको सूचनामा विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त रकम यस सीमा भन्दा बढी नगदमा राख्न नपाइने स्पष्ट पारेको छ ।
यसैगरी नेपाल प्रवेश गर्ने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएमा भन्सारमा अनिवार्य घोषणा गर्नुपर्ने नियम पनि लागू गरिएको छ । तर ५ हजार डलरसम्म भने घोषणा नगरी ल्याउन पाइने व्यवस्था यथावत राखिएको छ ।
अर्थ मन्त्रालयले वैध स्रोत खुलेको रकम नगदमै सुरक्षित राख्न वा प्रयोग गर्न कुनै रोकतोक नभएको तर स्रोत नखुलेको रकम भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धानमा पर्ने चेतावनी दिएको छ । मन्त्रालयले प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको सीमा भन्दा बढी कारोबार गर्नुपर्ने अवस्था आए बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ ।
वित्तीय अनुशासन र अनुत्पादक खर्च नियन्त्रणमा सरकार कडाइ गर्दै आएको छ । रामेश्वर खनाल अर्थमन्त्री बनेपछि मन्त्रालयले मितव्ययिता र खर्च कटौतीका उपायलाई कार्यान्वयनमा जोड दिएको छ । मन्त्रिपरिषदको असोज ५ को निर्णयअनुसार, सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीलाई कानुनमा तोकिएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा मात्र उपलब्ध गराउने व्यवस्था लागू गरिएको छ ।
त्यस क्रममा असोज १० गते नै गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरी कानुनबाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न पनि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया