देशभर मनसुनजन्य विपत्तिमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो

समाधान संवाददाता २०८२ असोज २१ गते ६:३४

काठमाडौँ । असोज १७ गते शुक्रबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण देशभर मनसुनजन्य विपत्तिबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार निधन हुनेमध्ये १९ जना पुरुष, २६ जना महिला र १५ जना नाबालक छन् ।

Advertisement

सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । तीमध्ये पुरुष १३, महिला १४ र नाबालक १० जना रहेका छन् । पाँचथरमा पनि ८ जनाको ज्यान गएको छ, जसमा पुरुष ३, महिला ४ र नाबालक १ जना छन् ।

त्यस्तै, उदयपुरमा ३ जनाको मृत्यु भएको छ (महिला २ र नाबालक १), खोटाङमा पुरुष २ जना र सुनसरीमा एक पुरुषको ज्यान गएको छ ।

Advertisement

मधेश प्रदेशमा पनि क्षति पुगेको छ । रौतहटमा एक महिला र दुई नाबालक गरी ३ जनाको मृत्यु भएको छ भने मोरङ, सिन्धुली र महोत्तरीमा एक/एक जना महिलाको ज्यान गएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोकमा एक नाबालक र काभ्रेपाञ्चोकमा दुई महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रहरीका अनुसार केही जिल्लामा अझै उद्धार र खोजतलास जारी रहेकोले मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया