पक्राउ पर्लान त निवर्तमान भएका प्रधानमन्त्री ओली र मन्त्री लेखक ?

समाधान संवाददाता २०८२ असोज २१ गते १२:४२

काठमाडौं– जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुसँग सोमबार राति लामो छलफल गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राति सुरु भएको बैठक मंगलबार बिहान २ बजेसम्म चलेको स्रोतले जनाएको छ । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की सहभागी थिए ।

छलफलमा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरुको माग र देशभर विकसित परिस्थितिका बारेमा राय मागेकी थिइन् । उनले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएकी थिइन् ।

Advertisement

यसअघि जेनजी मुभमेन्टका युवाहरुले ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न सोमबार काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो । परिसर प्रमुख रमेश थापाले सो जानकारी प्रहरी महानिरीक्षक खापुङलाई दिएका थिए । त्यसपछि खापुङ केही वरिष्ठ अधिकारीसहित गृहमन्त्री अर्यालकहाँ पुगेका थिए ।

जाहेरी दर्ताबारे गृहमन्त्री र प्रहरीबीच मतभेद

गृहमन्त्रीसँगको छलफलमा जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीर बहस भएको थियो । स्रोतका अनुसार गृहमन्त्री अर्याल जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए । तर प्रहरी अधिकारीहरुले अहिले पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी दर्ता गरियो भने भोलि बालेनविरुद्ध पनि आउन सक्ने चेतावनी दिएका थिए ।

Advertisement

‘गृहमन्त्री जाहेरी दर्ताको पक्षमा थिए तर प्रहरी अधिकारीहरुले आज ओलीमाथि जाहेरी आयो भने भोलि बालेनमाथि पनि आउनसक्छ भन्ने कुरा राखे,’ एक स्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीसँगै छलफल गरेर निर्णय गर्ने सहमति भयो ।’

त्यसपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री कार्कीसँग छलफलको समय मागेका थिए । त्यसपछि प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुलाई समेत बोलाएर संयुक्त बैठक आह्वान गरेकी थिइन् ।

छलफलमा प्रहरी प्रमुख खापुङले प्रधानमन्त्रीको लिखित निर्देशन वा केन्द्रीय सुरक्षा समितिको निर्णय प्राप्त भए मात्र ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न सकिने बताएका थिए । ‘केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित निर्देशन आएपछि मात्रै अघि बढ्न सकिन्छ भन्ने उहाँको भनाइ थियो,’ सुरक्षा स्रोतले भन्यो ।

स्रोतका अनुसार छलफलमा सहभागी अधिकारीहरुले न्यायिक छानबिन चलिरहेका बेला पक्राउ प्रक्रिया अघि बढाउँदा मुठभेडको सम्भावना रहन सक्ने बताएका थिए । साथै, जेनजी आन्दोलनका क्रममा लुटिएका केही हतियार अझै फिर्ता नआएकाले सुरक्षालाई अत्यधिक संवेदनशील बताइएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सिफारिसपछि सरकारले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई काठमाडौं बाहिर जान रोक लगाएको छ ।

प्रधानमन्त्री कार्कीले सोमबार रातिको बैठकमा समग्र परिस्थितिलाई सूक्ष्म रूपमा अध्ययन गरी नियन्त्रणका उपायहरू तय गर्न निर्देशन दिएकी थिइन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी मंगलबार पनि सोही विषयमा थप छलफल र परामर्शमा छिन् ।

तपाईको प्रतिक्रिया