मुस्ताङको स्याङ गुम्बामा देखाइयाे ‘ध्योक्योप’ देव नृत्य

सुन्दरकुमार थकाली २०८२ असोज २५ गते १६:२१

जोमसोम ।
यहाँको घरपझोङ गाउँपालिका—३ स्याउ गाउँ स्थित टसी ल्हखाङ्ग गुम्बा प्राङ्गणमा शुक्रबार दुई सय ५० वर्ष अघि देखि निरन्तर रुपमा चल्दैआईरहेको परम्परागत ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक ‘ध्योक्योप’ देव नृत्य यसवर्ष पनि देखाईएको हो ।

परम्परागत धार्मिक देव नृत्य ‘योक्योप, यहाँको तल्लो क्षेत्रको ढुम्बा ,स्याङ , मार्फा र टुकुचेमा अवस्थित निङ्मापा गुम्बाहरुमा बर्सेनि देखाईने प्रचलन रहेको छ ।


यहाँको घरपझोङ र थासाङ गाउँपालिकाकामा अवस्थित गुम्बाहरुमा यसप्रकारको धार्मिक पुजासहितको ध्योक्योप’ बुद्धिस धर्मसंस्कृति अनुसार देखाईने प्रचलन रहेको छ । परम्परागत तथा धार्मिक रुपमा देखाईने यसप्रकारको ‘ध्योक्योप’ मानिसको ग्रहदशा हटाउने पुजालाई लिने गरिन्छ ।

Advertisement

यहाँका गाउँगाउँमा रहेका गुम्बाहरुमा ‘ध्योक्योप’ गर्नाले मानिसको नराम्रा रोगहरु,झैझगडा,वैमनश्यता,नराम्रा घटनाहरु नहोउन् र यसबाट मानिसलाई धार्मिक मोक्ष प्राप्ति होस भन्ने उद्देश्यले देखाईने प्रचलन रहेको खेम्बो रिम्पोर्छे डा. मंगलध्वज तुलाचनले जानकारी दिए ।

‘‘ध्योक्योप’ पुजा गरिंदा मुख्यतया तीन वटा कार्यक्रम समावेश रहने खेम्बो रिम्पोर्छे डा. तुलाचनले बताए । उनका अनुसार परम्परागत ‘ध्योक्योप’ आयोजना गर्दा सेनेन,ध्योक्योप र अन्तिम सोर कार्यक्रम गरिन्छ । मुख्य रुपमा ध्योक्योप देव नृत्य देखाईने अघिल्लोदिनको साँझ बर्सेनि आउने मानिसको नराम्रा खड्कोहरु हटाउन ग्रह शान्ति गर्ने पुजालाई सेनेन पुजा भन्ने गरिएको हो ।

Advertisement

यसपछि ‘ध्योक्योप’ देव नृत्य देखाईन्छ । ‘ध्योक्योप’ देव नृत्य कार्यक्रममा ठुलो संख्यामा लामाहरुले धार्मिक पुजा गर्छन भने त्यसको साथसाथै लामाहरुले वेषभूषा र देवीदेवताहरुको मुकुट पहिरिएर नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको खेम्बो रिम्पोर्छे डा. तुलाचनले उल्लेख गरे । यसरी देखाईने गुरु पद्यसम्भव र महाकाल आदीको देव नृत्य देखाईने प्रचलनलाईनै ‘ध्योक्योप’ भन्ने गरिएको उनको भनाई छ ।


‘मानिसले भगवान चिनेको र देखेको हुँदैन, जिवितै रहँदा भगवान चिन्न सकियोस भनेर भगवानका आकृतिहरु लगाएर देव नृत्य देखाईन्छ,’ खेम्बो रिम्पोर्छे डा. तुलाचनले भने ,‘ यसरी देखाईने देव नृत्यबाट भगवानबाट आर्शिवाद प्राप्त हुन्छ भन्ने जनविश्वाश छ, यो गुरु पद्यसम्भवको विभिन्न स्वरुप महाकालसंग सम्वन्धित छ ।’

यहाँको धार्मिक तथा सांस्कृतिक पुजा ‘ध्योक्योप’मा लामाहरुबाट सामुहिक पुजापाठसहित गुरु रिम्पोर्छे पद्यसम्भवलाई निमन्त्रणा गरेर सबै ध्योक्योव अवलोकन गर्नेहरुलाई दर्शन दिएर ग्रह शान्ति गर्न यसप्रकारको देव नृत्य देखाईने गरिएको हो ।


‘ध्योक्योप’को अन्तिममा देव नृत्य विर्सजन भएपछि बेलुकी सोर कार्यक्रम हुन्छ । यो पनि मानिस र प्राणीहरुको हित र रक्षाका लागि गरिने पुजा हो । अहिंसा र विश्व शान्तिको कामना गर्दै विभिन्न आकृतिहरु बनाएर अग्निदहन गरेर ग्रह शान्ति गरिने खेम्बो रिम्पोर्छे डा. तुलाचनको भनाई छ । यी सबै कर्म पुरा गरेपछि र ध्योक्योपका सम्पूर्ण विधिहरु अवलोकन गर्नाले मानिसको जीवनमा सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।


जन्मेपछि मृत्यु शासस्त सत्य छ । जिवितै हुँदा यसप्रकारको ध्योक्योप अवलोकन र दर्शन गर्नाले अन्तरभाव स्वरुप विभिन्न देवीदेवताहरुको साक्षात दर्शन हुने र मृत्युपछि पनि जिवितै हुँदा दर्शन गरिएका भगवानहरु मृत्युपछि पनि अन्तरआत्मा भित्र प्रकट हुने भएकाले यसप्रकार ‘ध्योक्योप’ देव नृत्यको महत्वमा स्थानीय नागरिकहरुको अधिक जनविश्वास रहेको पाईएको छ । मृत्युपछि प्रकट हुने भगवानले सहजै उद्दार गरी स्वर्गको बास हुने भएकाले यहाँका धार्मिक रुपमा आस्था राख्नेहरु ‘ध्योक्योप’ अवलोकन गर्न छुटाउँदैनन् ।


यहाँको ढुम्बा,स्याङ, मार्फा र टुकुचेमा कार्यरत बुद्धिस लामाहरुले एक आपसमा समन्वय र सहकार्य गरी यसप्रकारको ‘ध्योक्योप’ आयोजना गर्ने प्रचलन रहिआएको छ । यहाँको स्याङ गाउँमा आयोजित ‘ध्योक्योप’ देव नृत्य अवलोकन गर्न स्थानीय सर्वसाधारण नागरिकहरुको बाक्लो उपस्थिती रहेको घरपझोङ—३ स्याङका कार्यपालिका सदस्य फलेन्द्र थकालीले जानकारी दिनुभयो । यहाँका गुम्बाहरुमा सबैले बर्सेनि पालैपालो गरी ध्योक्योप देव नृत्य देखाईने गरिएको कार्यपालिका सदस्य थकालीको भनाई छ ।


यहाँको स्याङ गाउँ स्थित टसी ल्हखाङ्ग गुम्बामा ध्योक्यो हेर्ने उल्लेख्य सर्वसाधारणको भीडले गुम्बाको तल्लो र उपल्लो तलाको बारदली भरिभराउ भएको थियो । मुस्ताङ भित्रिएका विदेशी पर्यटकहरुले समेत यहाँको ध्योक्योप’ देव नृत्य कार्यक्रमलाई निकै उत्सुकतापूर्वका अवलोकन गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया