राष्ट्रियसभा निर्वाचनः कांग्रेसले उठायो रेग्मी र गौचन

समाधान संवाददाता २०७६ पुष २० गते १२:३१

समाधान संवाददाता
पोखरा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा खाली हुने पदमा महिलाबाट कांग्रेसले म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गौचनको नाम प्रदेश सभा सदस्यका लागि समानुपातिकको बन्द सूचीमा थियो । केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरी निर्वाचन आयोगलाई पत्र लेखेर सूचीबट हटाउन आग्रह गरेको थियो । आयोगले हटाएपछि उनलाई कांग्रेसले उम्मेद्वार बनाएको हो । अन्य समूहबाट स्याङ्जा कांग्रेसका पुराना नेता सूर्यप्रसाद रेग्मी उठाउने भएको छ ।

नेकपाले भने गण्डकीबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई उठाउने निर्णय गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारण गरिएको छ । गण्डकीमा स्थानीय तहको १ सय ७० जनाको ३ हजार ६० र प्रदेश सभातर्फ ६० जनाको २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार छ । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ । निर्वाचनका लागि आयोगले निर्वाचन केन्द्र नै तोकिसकेको छ । गण्डकीको चुनाव जिल्ला निर्वाचन कार्यालय कास्कीमा केन्द्र तोकिएको छ ।

Advertisement

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला ७, दलित २, अल्पसंख्यक २ र अन्य ७ जना निर्वाचित हुनेछन् । संघीय संसद्को माथिल्लो सभाका रूपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुउर्‍याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नम्बर १ बाट दलिततर्फ पाँचथरका नीरबहादुर विश्वकर्मा, महिलातर्फ सुनसरीकी मीना पुलामी मगर र अन्यमा झापाका राजेन्द्र घिमिरेलाई उम्मेदवार चयन गरेको छ । प्रदेश नम्बर २ बाट महिलातर्फ महोत्तरीकी नगिना यादव, अल्पसंख्यकमा धनुषाका भोला पञ्जियार, प्रदेश नम्बर ३ बाट अन्यमा सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ, महिलामा चितवनकी छलीकुमारी शर्मा उपाध्यायलाई उम्मेदवार चयन गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

Advertisement

प्रदेश नम्बर ५ बाट अन्यमा अर्घाखाँचीका बालकृष्ण पाण्डे, महिलामा दाङकी गिरिजा न्यौपाने, अल्पसंख्यक÷अपांगतामा बाँकेबाट मेराज हलवाईले टिकट पाएका छन् । प्रदेश नम्बर ६ बाट अन्यमा सुर्खेतका डिल्लीराम पाठक, महिलामा सुर्खेतकी सावित्री पौडेल, प्रदेश नम्बर ७ बाट अन्यमा बैतडीका प्रताप ठगुन्ना, महिलामा कैलालीकी तुलसी देवकोटालाई कांग्रेसले उम्मेदवार बनाउने भएको छ । कांग्रेसले यो निर्वाचनमा प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

उक्त सहमतिअनुसार प्रदेश नम्बर २ मा हुने ४ सदस्य पदको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीले २÷२ पदमा उम्मेदवारी दिनेछन् । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक २ वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका १ तिहाई सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

मनोनयन दर्ता आज
निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । राष्ट्रियसभाका १९ जनाको फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।

राष्ट्रियसभाका सदस्यको पहिलोपटक १ तिहाइ सदस्यको पदावधि २ वर्ष, अर्काे १ तिहाइको ४ वर्ष र बाँकी १ तिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । २ वर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

२ वर्षे कार्यकाल पूरा हुने सांसद
राष्ट्रियसभामा पहिलो २ वर्षको कार्यकाल पूरा हुनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल छन् । बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । उनीहरुको फागुन २० गते कार्यकाल सकिनेछ । फागुन २० मा २ वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य छन् ।

तपाईको प्रतिक्रिया