पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग

पोखरा ।
कास्कीका युवा र विद्यार्थीले जेनजी आन्दोलनको क्रममा ऐतिहासिक धरोहर र प्रशासनिक भवनहरु आगजनी, तोडफोड र लुटपाट गर्नेलाई कानुनी कारवाही गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्की र अनेरास्ववियु कास्कीले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई यथाशीघ्र प्रकाउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्कीका सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यवसायिक प्रतिष्ठान, निजी आवास, सार्वजनिक पूर्वाधारहरु तोडफोड, आगजनी र लुटपाट भएको थियो । आन्दोलनको क्रममा भएका गतिविधिले मुलुकको कानुनी व्यवस्था, राष्ट्रिय सम्पत्ति र जनताको सुरक्षामाथि गम्भीर चुनौती खडा गरेको उल्लेख गर्दै ज्ञापनपत्रमा दोषीलाई कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
‘राजनीतिक आवरणमा योजनाबद्ध रुपमा अराजक तत्वहरुले गरेको गतिविधिले हिंसा, अपराधका घटना हुनुका साथै राष्ट्रिय अस्थिरता बढाउने काम भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता किसिमका गतिविधिले नेपालको लोकतान्त्रिक प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाएको छ ।’ आगजनी, तोडफोड र लुटपाटका घटनाले सार्वजनिक सेवा प्रवाह, प्रशासनिक काम कारवाही र शिक्षा प्रणाली अवरुद्ध बनेको उल्लेख गर्दै ज्ञापनपत्रमा त्यस्ता खालका अपराधमा संग्लनलाई कडा भन्दा कडा कारवाहीका लागि जोडदार माग गरिएको छ ।
अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले हिंसा, तोडफोड, आगजनी, लुटपाटको घटनाले देश र समाजलाई त्रासपूर्ण बनाएर शान्ति सुरक्षालाई कमजोर बनाउने बताए । राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष उमेश गुरुङले अपराधिक क्रियाकलापमा सहभागीलाई कानुनी कारवाहीको दायरामा नल्याए सरकारको कमजोरी प्रमाणित हुने दाबी गरे । उनले अपराधमा संग्लग्न व्यक्तिलाई संरक्षण दिएको खण्डमा निर्दोष नागरिक त्रासमा बस्न पर्ने र अपराधले बलियो जरो गाड्ने उल्लेख गरे ।
आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट बाहिरिएका कैदी, बन्दीबाट भएको अपराधिक घटनाले मुलुकको आन्तरिक सुरक्षा थप चुनौतीपूर्ण भएको चर्चा गर्दै ज्ञापनपत्रमा नेपाल प्रहरीको लुटपाट भएको बर्दी, हतियार र संवेदनशील सुरक्षाका सामाग्री समेत दुरुपयोग भएर अपराधिक घटना बढ्ने चिन्ता जाहेर गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी शर्माले युवा विद्यार्थीको मागलाई सकारात्मक रुपमा लिएर कानुनी कारवाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया