विपिन जोशी जीवित नरहेको इजरायली सेनाद्वारा पुष्टि

काठमाडौं ।
हमासद्वारा गत वर्ष इजरायलमा अपहरणमा परेका नेपाली युवक विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ। इजरायली सेनाको आधिकारिक निकाय इजरायल डिफेन्स फोर्स (आईडीएफ) का एक वरिष्ठ अधिकारीले स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ७ बजे जोशीको मृत्युबारे जानकारी दिएका हुन्।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार उक्त जानकारी भिडियो कन्फरेन्समार्फत दिइएको हो। भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई जना अधिकारी सहभागी थिए।
राजदूत पण्डितले अनलाइनखबरसँग भने, ‘आईडीएफका अधिकारीले हामीलाई “विपिन इज नो मोर” भने। त्यसपछि हामीले आधिकारिक रूपमा बुझ्यौँ कि विपिन अब जीवित छैनन्।’
३७ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आकस्मिक हमलाका क्रममा अपहरणमा परेका थिए। उनी लर्न फर अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीहरू मध्येका एक हुन्। उक्त आक्रमणमा नेपाली विद्यार्थी बस्ने किबुत्ज अलुमिममा १० जना नेपालीको ज्यान गएको थियो, जसपछिका दिनमा जोशीबारे कुनै ठोस जानकारी नआएको थियो।
जोशीको जीवित भएको आशा भने एक भिडियो सार्वजनिक भएपछि झल्किएको थियो। २०२३ नोभेम्बरमा सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा जोशीले आफ्नो परिचय दिँदै आफू हमासको नियन्त्रणमा रहेको बताएका थिए। त्यसपछि इजरायली सेनाले उनलाई खोजी गर्ने प्रयास जारी राखेको थियो।
नेपाल र इजरायल दुवैतर्फबाट लगातार सम्पर्क र पहल भइरहे पनि उनको अवस्था स्पष्ट हुन सकेको थिएन। इजरायली सेनाले आज आधिकारिक रूपमा जोशी जीवित नरहेको जनाएपछि करिब एक वर्ष लामो अनिश्चितताको अन्त्य भएको छ।
जोशीको परिवारले इजरायली सेनाको जानकारीबारे औपचारिक प्रतिक्रिया नदिँदै, नेपालको परराष्ट्र मन्त्रालयमार्फत थप विवरण माग गरेको बताइएको छ।
नेपाल सरकारका तर्फबाट इजरायलस्थित दूतावासले भने ‘विपिन जोशीको परिवारसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक सहयोग गर्ने तयारी गरेको’ जनाएको छ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया