डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पोखरा ।
‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही झण्डै डेढ महिनादेखि प्रभावित भएको छ । पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसयता दुईपटकसम्म बैठक डाकिएकामा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन ।
भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण अनश्चितकालसम्मका लागि स्थगित गरिएको बैठक गत बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने तय भएको थियो ।
उक्त दिन पनि प्रदेशसभा बैठक सञ्चालन हुन सकेन । अन्तिम समयमा आएर विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगित भएको सूचना निकाल्यो । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । सभामुख कृष्णप्रसाद धितालले प्राविधिक तयारी नपुगेका कारण बैठक स्थगित भएको बताए ।
“नयाँ ठाउँमा बैठक बस्नुपर्ने भएकाले व्यवस्थापकीय र प्राविधिक तयारी पनि सोही अनुसार गर्नुपर्ने अवस्था छ”, उनले भने, “अब तिहारपछि नै बैठक बस्छ, त्यतिञ्जेलसम्म तयारी पनि पुग्छ ।” गत बुधबार बोलाइएको बैठकमा गाँजा खेती र खानी तथा खनिजसम्बन्धी विधेयकमा दफाबार छलफल गरी र पारित गर्ने सम्भावित कार्यसूचि तयारी थियो । प्रदेशसभा बैठक प्रभावित हुँदा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ ।
पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीले पूर्ण रूपमा क्षति पुर्याएको थियो । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो ।







सम्पादकीय—प्रवासीलाई मताधिकार
मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया