गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई भौतिक आक्रमणको धम्की

पोखरा ।
गण्डकी विश्वविद्यालयमा ‘जेनजी’ का प्रतिनिधि भन्दै पुगेका एक समूहले कुलपति र रजिस्ट्रारलाई भौतिक आक्रमणको धम्की दिएको छ। यो समूहमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनका नेताहरु समेत संलग्न थिए।
उनीहरुले विश्वविद्यालयमा अनियमितता मौलाएको आरोप लगाउँदै कुलपति प्राडा इन्द्र तिवारी र रजिस्ट्रार डा कैलाश तिमिल्सिनालाई भौतिक आक्रमण गर्नेसम्मको धम्की दिएका हुन्। उनीहरुले धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
जेनजीका नाममा विश्वविद्यालय पुगेर पदाधिकारीहरुलाई धम्क्याउनेहरुमा राजावादीसँग नजिक राष्ट्रवादी विद्यार्थीहरुको नेतृत्व गर्ने र आफूलाई अभियन्ता बताउने विजय पराजुली, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निर्दोषविक्रम पौडेल, डिफान भुजेललगायत थिए। यो समूहसँगै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कास्की अध्यक्ष सन्तोष पोखरेल पनि पुगेका थिए।
पदाधिकारी र जेनजीका प्रतिनिधि भन्दै पुगेका विद्यार्थी नेताहरुबीच चर्काचर्की चलिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रकाश बास्तोला पनि कार्यकक्षमा प्रवेश गरेका थिए। उनले विश्वविद्यालयमा धेरै प्रश्न उठेकाले छानबिन गर्न र गल्ती सच्याउन आवश्यक रहेको बताए।
उनीहरु स्वयंले ‘अरुजस्तो नसोच्नुहोला हामीलाई। कोही बोलाए पनि केही हुन्न, हामी पटक-पटक हिरासत गइसकेका छौँ’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। तर रजिस्ट्रार तिमिल्सनाले विश्वविद्यालयमा कुनै अनियमितता नभएको भन्दै प्रतिवाद गरेको भिडियोमा देखिन्छ । उनले भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौतीसमेत दिएका छन् । उपस्थित केही प्राध्यापकहरुले समेत रजिस्ट्रारको कार्यशैलीप्रति असहमति जनाउँदै प्रश्न गरेका थिए । उनीहरुले रजिस्ट्रारको एकलौटी मनोमानी चल्दै आएको बताएका थिए ।
समूहका एक युवाले ‘भौतिक कारबाही हुन्छ’ भन्दै धम्क्याएका थिए । ‘नीतिगत भ्रष्टाचार गर्नेहरु माथि अब कोही चुपलाएर बस्दैन अब भौतिक कारबाही हुन्छ,’ एक युवाले भनेका छन्, ‘पोखरामा यत्रो विश्वविद्यालय छन्, पृथ्वीनारायण क्याम्पस चल्या छ, यहाँ जनप्रिय क्याम्पस छ, एउटा क्याम्पस नजल्दै गर्दा यत्रो विश्वविद्यालय किन जल्यो ? तपाईहरु असक्षम भएर जल्यो कि, तपाईंहरु भ्रष्टाचारी भएर जल्यो कि यो कार्यालय किन जल्यो ? त्यसको जिम्मा लिने को हो ?’ रिसर्च गरेको पैसामा कमिसन मागेको, सरकारी पैसामा विदेश गएको लगायत आरोप पनि ती युवाले लगाएका थिए ।
गण्डकी विश्वविद्यालयमा भएको घटनाप्रति अनुसन्धाता डा ढाका भण्डारीले असन्तुष्टिलाई हिंसामा नभई प्रक्रिया र नीतिगत संवादतर्फ मोड्नुपर्ने विचार फेसबुकमा सार्वजनिक गरेका छन् । उनले लेखेका छन्- गण्डकी विश्वविद्यालयको घटना सानो देखिए पनि यसले ठूलो प्रश्न उठाउँछ, के हामी ज्ञानको संस्थालाई भीडको न्याय र राजनीतिक खेलको रंगमञ्च बनाउँदैछौँ? यस्तो प्रवृत्तिले दीर्घकालमा हाम्रो बौद्धिक सम्पत्ति क्षय गर्छ। त्यसैले, राज्यले बल प्रयोग वा ढिलाइ नगरी पारदर्शी छानबिनसहित शान्ति कायम गर्नुपर्छ। विश्वविद्यालयले स्वतन्त्र छानबिन समिति सक्रिय गर्दै निर्णयमा स्वायत्तता र जवाफदेहिता बढाउनुपर्छ। आन्दोलनकारी र विद्यार्थी समुदायले वैध असन्तुष्टिलाई हिंसा होइन, प्रक्रियागत गुनासो र नीतिगत संवादतर्फ मोड्नुपर्छ, तर्कसंगत र शान्तिपूर्ण तर दृढ शैलीमा। विश्वविद्यालय शक्ति समीकरणको होइन, सत्य र तर्कको घर हो, धम्की र हिंसाले परिवर्तन ल्याउँदैन, ज्ञान–संस्कृतिको पतन मात्र ल्याउँछ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया