कांग्रेसमा नेतृत्व परिवर्तनको दबाबः २४८८ प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाए

समाधान संवाददाता २०८२ असोज २९ गते १७:११

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ। देशभरका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।

१४औं महाधिवेशनका कुल प्रतिनिधिको झण्डै ५३ प्रतिशतको समर्थनसहित आएको यो हस्ताक्षरले कांग्रेसभित्र संस्थागत परिवर्तन र नयाँ दिशाको आवश्यकता औंल्याएको छ।

नेता गुरु घिमिरेले संकलित हस्ताक्षर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खड्कालाई बुझाउँदै भने, “यो कदम पार्टीभित्र विद्रोहका लागि होइन, असल अभ्यास पुनःस्थापना र पार्टीलाई नयाँ गति दिनका लागि हो।”

Advertisement

उनले स्वर्गीय नेता सुवर्णशम्शेर राणादेखि सुरु भएको लोकतान्त्रिक परम्पराअनुसार विशेष परिस्थितिमा विशेष महाधिवेशन माग गर्नु प्रतिनिधिहरूको वैधानिक अधिकार भएको स्पष्ट पारे।

जेन–जी आन्दोलनपछिको राजनीतिक अस्थिरता र नेतृत्वप्रतिको असन्तोषबीच कांग्रेसभित्र यो मागलाई संगठन पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।

Advertisement

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित महाधिवेशन असम्भव देखिएको अवस्थामा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चुन्नुपर्ने पक्षमा छन्।

पार्टीभित्र अब यो मागलाई केन्द्रीय कार्यसमितिले कसरी लिन्छ भन्ने विषयमा चासो बढेको छ। धेरै नेताहरूका अनुसार यो हस्ताक्षर अभियानले कांग्रेसको भविष्य दिशानिर्देशन गर्ने निर्णायक मोड लिएको छ।

तपाईको प्रतिक्रिया