२१ औं ल्हाेछार घलेल महाेत्सव सम्पन्न

समाधान संवाददाता
पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ घलेलमा भएको ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ सकिएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सहआयोजनामा महोत्सव भएको हो । पुस १५ देखि सुरु भएको महोत्सव आइतबार सकिएको हो ।
तमु ल्होछारको अवसरमा आयोजित गाउँ स्तरीय पुरुष भलिबलतर्फको उपाधि धम्पुसले जितेको छ । घलेल स्थित खेल मैदानमा भएको फाइनलमा मिलन युवा क्लब धम्पुसले जुरे भूमी युवा क्लब तप्राङलाई पराजित गर्दै उपाधि जितेको हो । मिलन युवा क्लब धम्पुसले जुरे भूमीलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटमा हराएको हो ।
उपाधिसँगै धम्पुसले सिल्ड, मेडल, प्रमाणपत्रसहित नगद ७० हजार प्राप्त गर्यो भने उपविजेता तप्राङले सिल्ड, मेडल, प्रमाणपत्रसहित नगद ४० हजारमा चित्त बुझायो । मर्दी हिमाल क्लब सिँधिङलाई २५–१३ र २५–१७ को सेटले पराजित गर्दै तृतीय बनेको अन्नपूर्ण युवा क्लबलाई सिल्ड, मेडल, प्रमाणपत्रसहित नगद २५ हजार प्रदान गरिएको क्लबका सदस्य झक गुरुङले बताए । ३० टिमको सहभागिता प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी मिलन युवा क्लबका मनोज खड्का घोषित भए ।
खुला घोडा दौडतर्फ नागीका बलबहादुर खड्का प्रथम भए । सिँधिङ घिप्लीका दुर्गा भण्डारी दोस्रा र सोहीका गोविन्द गौतम तेस्रा बने । निर्धारित ७.५ किलोमिटर दुरी ३३ मिनेट ३० सेकेन्डमा पार गरी च्याम्पियन बनेका क्षेत्रीलाई नगद १५ हजार प्रदान गरिएको खेल संयोजक कृष्ण गुरुङले बताए । ३३ मिनेट ३३ सेकेन्डमा पार गरी दोस्रो स्थान बनेका भण्डारीले नगद १० हजार हात पारे भने तृतीय बनेका गौतमले ३४ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै नगद ५ हजार पाए ।
महिला मेच घुमाईतर्फ सर्मिला गुरुङ प्रथम र सीमा गुरुङ द्वतीय भए । घैटो फुटाउने खेलतर्फ गोविन्द गौतम विजयी भए । छेलोतर्फ अर्जुन क्षेत्री च्याम्पियन बने भने शुशील क्षेत्री दोस्रो भए ।
विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन), माछापुच्छ्रे गाउँपालिका ९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्री, ८ का अध्यक्ष कृष्ण दवाडी, क्लबका अध्यक्ष राम गुरुङ, धर्मगुरु कर्मा गुरुङ –लामा) लगायतले पुरस्कार वितरण गरेका थिए । प्रदेशसभा सदस्य बरालले घलेलको विकासका लागि उत्सवले टेवा पुर्याउने बताए । उनले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई ल्वाङ तथा घलेलका होमस्टेले सघाउने उल्लेख गरे ।
उत्सव संयोजक आइबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा दीपकराज ढुंगानाले पनि बोलेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया