५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं ।
वर्षौंदेखि सडक र पुल निर्माणको जिम्मा लिएर काम नगरी अलपत्र पारेका थप ५० वटा रुग्ण ठेक्का तोड्ने तयारी सुरु भएको छ । सडक विभागअन्तर्गतका विभिन्न कार्यालयले यी ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् । पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले ती ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छन् । आइतबार सार्वजनिक सूचना जारी गरी यी ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो । यसअघि शुक्रबार १७ र शनिबार १ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको थियो ।
कुल ५० वटा ठेक्कामध्ये सडक डिभिजन कार्यालय जनकपुरका २१, काठमाडौंका ७, ओखलढुंगा र अछाम डिभिजनका ५–५ वटा ठेक्का छन् । यसैगरी पाल्पा र दमौलीका ४–४ वटा तथा धनकुटा, पोखरा, मध्यपहाडी र गोरखा सडक योजनाका १–१ वटा ठेक्का तोड्ने प्रक्रियामा रहेका छन् । निर्माण व्यवसायीहरूले पटकपटक म्याद थप भए पनि काम सम्पन्न गर्न चासो नदेखाएको विभागले जनाएको छ ।
पोखरा, मध्यपहाडी र गोरखा सडक योजनाका १–१ वटा ठेक्का तोड्ने प्रक्रियामा
निर्माण कार्य अधुरो र अलपत्र पारेर लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएको विभागको भनाइ छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा काम सम्पन्न गर्न अनुरोध गर्दा पनि ठेकेदारहरूले ठेक्का सम्झौता उल्लंघन गरेको विभागले उल्लेख गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए । सडक विभागअन्तर्गत हाल २५८ वटा ठेक्का रुग्ण अवस्थामा छन् । सार्वजनिक सूचनामा ठेकेदारहरूलाई १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने गरी संशोधित कार्यतालिका, स्रोतसाधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए त्यसको सत्यतथ्य प्रमाणसहित स्पष्टीकरण दिन आधिकारिक व्यक्तिलाई कार्यालयमा उपस्थित हुन आह्वान गरिएको छ ।
तोकिएको अवधिमा ठेकेदारहरूले काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनअनुसार ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राखिनेछ । यसका साथै, कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत गरिनेछ । पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया