सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको उच्च जोखिम, इसिमोडको अध्ययन सार्वजनिक

काठमाडौँ । हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभावले हिमताल विस्फोटन, हिमपहिरो र द्रुत गतिमा हिउँ पग्लने जोखिम बढाएको एक पछिल्लो अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको ‘थामे उपत्यका हिमताल विस्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनले यो क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख गरेको छ।
इसिमोडका जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेको यस अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व रूपमा हिमनदी पग्लने दर बढेको जस्ता समस्या भोगिरहेको देखाएको छ। पछिल्ला दशकहरूमा यो दर पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ। हिमनदी पग्लने दर बढ्दा अमू दरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमतालहरू वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
थामे हिमताल विस्फोटनको अनुभव
सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विस्फोटनको बाढी सम्बन्धमा गरिएको अध्ययनले यसलाई पुष्टि गरेको हो। भूगर्भीय र भूआकृतिक कारकहरूको विनाशकारी, जटिल र श्रृंखलाबद्ध असरले सो क्षेत्रमा हिमताल विस्फोटन बाढीको शक्तिलाई बढाइदिएको अध्ययनमा उल्लेख छ।
अध्ययनका अनुसार, चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर १ लाख ५६ हजार घन मिटर पानी बाहिरिएको थियो। उक्त पानी १२० मिटर तल रहेको अर्को तालमा खस्दा तालमा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल परेको थियो, जसले गर्दा थप ३ लाख ३ हजार घन मिटर पानी बाहिरिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ।
दुवै तालको पानी एक साथ बग्दा पानीको बहाव अत्यन्तै तीव्र भएको थियो, जसले गर्दा ठूला ढुंगासहितका भग्नावशेषलाई ८० किलोमिटर तलसम्म बगाएर लगेको थियो। त्यसपछि उत्पन्न बाढीले आफ्नो बाटोमा पर्ने नदी किनारमा क्षति पुर्याएको थियो। नदीको प्राकृतिक रूपमा साँघुरिएको भाग र अस्थायी रूपमा जम्मा भएको बाढीको पानी बगेर जाँदा बाढीले ठूलो रूप लिएको थियो। ‘यसले गर्दा ठूलो क्षति भएको, थामे गाउँ नजिकको करिब आधा किलोमिटर चौडा उपत्यका भग्नावशेषहरूले भरिएको थियो,’ अध्ययनमा उल्लेख छ।
बाढीले निजी घरहरू, एउटा विद्यालय, स्वास्थ्य चौकी, पुल र एउटा जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो। उक्त घटना दिउँसो भएकाले र पानी जम्मा भएको कारण बाढी चरणबद्ध रूपमा आएकाले मानवीय क्षति हुन नपाएको प्रतिवेदनमा उल्लेख छ। यो विपद्ले १३५ व्यक्ति विस्थापित र २५ घर नष्ट भएका थिए।
जोखिम र भविष्यको तयारी
इसिमोडको अध्ययनका एक लेखक, रिमोट सेन्सिङ विश्लेषक सुदन विकास महर्जनले हिन्दुकुश हिमालयमा २५ हजारभन्दा बढी हिमतालहरू रहेको र थामे घटनाले तुलनात्मक रूपमा साना तालबाट पनि हुने जोखिम बुझ्न र रोक्नका लागि धेरै प्रयास गर्न आवश्यक छ भन्ने देखाएको बताएका छन्। उनले अध्ययनमा जलवायु परिवर्तनका कारण थामेमा विनाशकारी क्षति पुगेको उल्लेख गरे।
नेपालमा विसं १९२० को दशकदेखि यता ९० भन्दा बढी हिमताल विस्फोटन भइसकेका छन्, जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै ५० वर्षभन्दा कम अवधिमा पाँचवटा यस्ता ठूला घटना भएका छन्। हिमताल विस्फोटन बाढी उच्च हिमाली क्षेत्रमा सबैभन्दा विनाशकारी र प्रमुख खतरामध्ये पर्दछन्। केही घण्टाभित्रै लाखौँ घन मिटर पानी र भग्नावशेष छोड्न सक्ने क्षमता भएका यस्ता घटनाले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउँछन्।
अध्ययनका सहलेखक इसिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले जलवायुका अति गम्भीर घटना बढ्दै जाँदा थामे जस्ता बाढीका घटना एउटा कठोर सम्झना र आत्म-चिन्तनको क्षण भएको बताए। उनी भन्छन्, ‘यसले पहाडी समुदायहरूले कसरी जलवायु-प्रेरित विपत्तिहरूको चपेटा सहिरहेका छन् भन्ने देखाउँछ। यस्ता अध्ययनले जलवायु परिवर्तनका वास्तविकताहरू बुझ्न सहयोग गर्छ।’
इसिमोडका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सहलेखक अरुणभक्त श्रेष्ठले थामे घटनाले हिन्दुकुश हिमालय क्षेत्रमा विश्वको तुलनामा झन्डै तीन गुणाले तापक्रम वृद्धि भइरहेकाले यस क्षेत्रका हिमनदीमा खतरा बढ्दै गएको बताएका छन्। ‘पछिल्ला दुई वर्षमा मात्रै, हामीले यस क्षेत्रमा हिमताल विस्फोटन बाढीसहित धेरै उच्च हिमाली खतराहरू देखेका छौँ, त्यसैले अब यस क्षेत्रमा वास्तविक सूचना तत्काल सुदृढ गर्न थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना र भविष्यमा हुनसक्ने घटनाबाट हुने क्षति घटाउन इन्जिनियरिङ संरचना, जस्तै नदीकिनार सुरक्षणसम्बन्धी काम गर्न आवश्यक छ,’ उनले भने।
थामे घटनाले हिमवत क्षेत्र र विपद्-सम्बन्धित घटना बुझ्न र भविष्यमा कार्यान्वयन योग्य नीति निर्माणका लागि पाठ सिकाएको छ। हालसालै, यस क्षेत्रमा ‘बिल्डिङ एडप्टेसन एन्ड रेजिलेन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले विपद्को लागत र जोखिम घटाउनेमा ध्यान केन्द्रित गरेको छ।
तस्बिर सौजन्य: सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया