पोखरामा छठको उल्लास

समाधान संवाददाता २०८२ कार्तिक ११ गते १०:३७

पोखरा ।
पोखराका ४ स्थानमा छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको हो ।


कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको अवसरमा पोखराको ४ स्थानबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएको नेपाल–भारत (एनवी) व्यवसायी समितिका पूर्वअध्यक्ष भुनेशकुमार ठाकुरले जानकारी दिए । फेवाताल किनार, नदीपुरको नारायणस्थान मन्दिर परिसर, सेती नदी र कालीखोलको संगमस्थल रिठ्ठाघाट त्रिवेणीधाम र माछापोखरी किनारबाट अर्घ दिइएको हो ।


समितिले निर्माण गरेका फेवा किनारस्थित पार्वती छठघाटमा नेपाल भारत व्यवसायी छठ पूजा समितिको आयोजनामा छठ पूजा हुँदै आएको उनले सुनाए । २०६८ सालदेखि केदारेश्वर मन्दिरको घाटमा छठ पूजा गर्न थालिएको उनको भनाइ छ । पहिला तराईवासी र भारतीयले पूजा गर्ने गरेको भए पनि अहिले पहाडी दिदीबहिनीले समेत पूजा गर्ने गरेको सुनाए ।

Advertisement


पूजाको सबै व्यवस्था समितिले गर्ने उनले सुनाए । ‘२०४९ सालदेखि म पोखरामा बस्दै आएको छुँ । मैले त्यही बेलादेखि नै मनाउन लागेको हुँ,’ उनले भने, ‘२५ वर्ष अघि म एउटा समिति बनाएर त्यसेको अध्यक्ष भएर मनाउन सुरु गरियो । १७ वर्ष अघि नेपाल–भारत (एनवी) व्यवसायी समिति दर्ता गरी निरन्तर छठ मनाउँदै आएका छौ ।’

पहिला तराइवासी मात्रै सहभागी हुने छठ पूजामा अचेल पहाडी समुदायको पनि सहभागिता देखिएको छ । पोखराका ४ ठाउँमा छठ पूजा गरियो ।

Advertisement


सुरुमा तालबाराही मन्दिर नजिक पूजा गरिने गरिएको भए पनि त्यति बेला व्यवस्थापनसमेत राम्रो नहुँदा सहभागिता थोरै हुने गरेको उनले सुनाए । अहिले सहभागिता उल्लेख्य हुने गरेको उनको भनाइ छ । पूजामा तराईका विभिन्न जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि नेपाल आएर परिवारसहित बसोवास गर्दै आएकाहरु सहभागी बने ।


यस वर्षको छठमा पोखरामा करिब ५ हजार व्रतालु तथा भक्तजनको उपस्थिति रहेको आयोजकको दाबी छ । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भएर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिने उनले बताए । छठमा छठी माताको पूजा जलाशयहरूमा गरिन्छ । छठ पर्व तिथिअनुसार आज शनिबार बेलुकी ‘नहाय–खाय’ अर्थात नुहाएर खाने विधिबाट सुरू हुँदै छ । सोमबार साँझको सूर्य र भोलिपल्ट मंगलबारको सूर्यलाई अर्घ दिएपछि छठको समापन हुन्छ ।


छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आरधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।


सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किंवदन्ती छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ ।

तपाईको प्रतिक्रिया