गण्डकीमा अधिकृतहरुको सेवाकालीन तालिम सम्पन्न

समाधान संवाददाता २०८२ कार्तिक १६ गते १४:५७

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको अधिकृतस्तर सातौँ र आठौँ तहका कर्मचारीहरूको ३० कार्यदिने सेवाकालीन तालिमको आज समापन भएको छ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डुराज घिमिरेको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा तालिम समापन समारोह सम्पन्न भयो।

प्रमुख सचिव घिमिरेले समापन सत्रमा बोल्दै कर्मचारीले तालिमबाट प्राप्त अवसरले सेवा प्रवाहमा सुधार आए मात्र यसको सार्थकता पुष्टि हुने बताए। उनले तालिमको प्रभावकारिता सहभागीको व्यवहारमा आउने परिवर्तनसँग जोडिने उल्लेख गर्दै असहज परिस्थितिमा पनि तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

Advertisement

गण्डकी प्रदेश निजामती ऐन र नियमावलीमा कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३ वर्षमा कम्तीमा ५ वा सोभन्दा बढी दिनको क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यसले प्रदेश सरकार कर्मचारीको निरन्तर विकासमा प्रतिबद्ध रहेको देखाउँछ।

१ सय २० सत्रमा सञ्चालित तालिममा ४६ जना प्रशिक्षकले सहजीकरण गरेका थिए। यसमा प्रदेश र स्थानीय तहमा कार्यरत ३० जना कर्मचारीको सहभागिता थियो। तालिम अवधिभर प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे र प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले तालिम व्यवस्थापन तथा संयोजनको जिम्मेवारी निभाएका थिए।

Advertisement

समापन सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिमको संक्षिप्त जानकारी गराए । तालिमका सहभागी कर्मचारी डा. कमल अधिकारी र कल्पना सापकोटाले सहभागीका तर्फबाट मन्तव्य राखेका थिए। प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा सहभागी कर्मचारीको तालिमको नतिजा सार्वजनिक गरी श्रेणी उल्लेखसहित प्रमाणपत्र वितरण गरिएको थियो।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७६ देखि नै प्रदेश लोकसेवा आयोगबाट प्रदेश र स्थानीय तहमा सिफारिस भएका कर्मचारीहरूका लागि सेवा प्रवेश तालिम तथा सेवामा कार्यरत कर्मचारीहरूका लागि सेवाकालीन तालिम सञ्चालन गर्दै आएको छ। यसले प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

तपाईको प्रतिक्रिया