व्यावसायिक वातावरणका लागि जेन–जी र उद्योगीबीच सहकार्य

पोखरा ।
पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनले खल्बलिएको व्यावसायिक वातावरण सुधार्न र व्यवसायीहरूको मनोबल बढाउन जेन–जी पुस्तासँग सहकार्य गर्ने भएको छ । सुरक्षाको प्रत्याभूतिसहित थप लगानीका लागि व्यवसायीलाई प्रोत्साहित गर्ने सहमति भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी पुस्ताका प्रतिनिधिहरूसँगको पटक–पटकको छलफलपछि यो सहकार्यको वातावरण बनेको बताए । छलफलमा जेन–जीका प्रतिनिधिहरूले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्न र भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष कार्कीको संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवम् सुरक्षा समिति’ गठन गरिएको थियो । पोखराका विभिन्न क्षेत्रका निजी क्षेत्रका प्रतिनिधिहरूको भेलाले यो समिति बनाएको हो । समितिले व्यावसायिक वातावरण निर्माण, शान्ति सुरक्षाको प्रबन्ध र व्यवसायीलाई आश्वस्त पार्ने काममा जेन–जी पुस्तालाई पनि सहभागी गराउने निर्णय गरेको थियो ।
यसअघि भएको संवादमा जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामी सहभागी थिए ।
जेन–जी प्रतिनिधिहरूसँगको बैठकपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा गठित व्यावसायिक वातावरण निर्माण एवम् सुरक्षा समिति र जेन–जी (दुवै पक्ष) बीच केही महत्त्वपूर्ण निर्णयहरू भएका छन् ।
ती निर्णयहरूमा जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने कुरा उल्लेख छ । भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा आवाज बुलन्द पार्ने, २०८२ भदौ २३ गते भएको दमनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्ने, २०८२ भदौ २४ गते जेन–जीको आन्दोलनमा भएको घुसपैठबाट सिर्जित तोडफोड, लुटपाट र आगजनीजस्ता आपराधिक कार्यमा संलग्नमाथि कारबाही तथा क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय पनि भएको छ ।
संयोजक कार्कीले व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन, उद्योगी–व्यवसायीहरूलाई सुरक्षाको प्रत्याभूति गराउन एवम् खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा ल्याउन दुवै पक्ष एकजुट भई अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।
‘सहमति कार्यान्वयन र भावी कार्यदिशा तय गर्न आवश्यकता अनुसार छलफल र बैठकको आयोजना गर्ने निर्णय भएको छ,’ संयोजक कार्कीले भने, ‘व्यवसायीमाथि पुनः आक्रमण नहोस्, दोषीमाथि कारबाही होस्, व्यवसायीले क्षतिपूर्ति पाऊन् भन्नेमा जेन–जी पुस्ता स्पष्ट छ । परिवर्तनको लागि सो पुस्ताले निभाएको भूमिकाको हामीले सराहना गरेका छौँ र सुशासनको मुद्दामा सँगै काम गर्ने प्रतिबद्धता जनाएका छौँ ।’
जेन–जी आन्दोलनको क्रममा पोखराको निजी क्षेत्रले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको क्षति बेहोरेको प्रारम्भिक अनुमान छ । ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ ले उद्योगी–व्यवसायीको गिरेको मनोबल उकास्नका लागि प्रशासन तथा सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजसँगसमेत सहकार्य गर्ने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया