छार्का भेरोलको हिउँमा फसेका दुई नेपाली पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत उनीहरूलाई सकुशल उद्धार गरिएको हो।
पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेको जानकारी पाएपछि सेनासँगको समन्वयमा उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।
यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए। त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उनीहरू छार्का पुगेका थिए। प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा ६ दिनसम्म जिसी र कुँवर रोकिएका थिए।
हिमपात रोकिएर मुस्ताङ फर्किने प्रतीक्षामा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमपात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए। दुई जना पर्यटकसँगै आएका रोकाया छार्का भेरोलबाट छुट्टिएका थिए।
रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगे पनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का भेरोलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेको प्रजिअ भुसालले उल्लेख गरे। उनका अनुसार रोकायाले स्याटेलाइट फोनमार्फत छार्का भेरोलमा दुई पर्यटक अलपत्र परेको स्थानीय प्रशासनलाई जानकारी गराएका थिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए।
पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए। उनका अनुसार रोकायाले दिएको जानकारीपश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया