१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध

सुन्दरकुमार थकाली २०८२ कार्तिक २१ गते १८:०७

जोमसोम । भारी हिमपातका कारण मुस्ताङ–डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । उपल्लो डोल्पा र मुस्ताङको महत्वपूर्ण सडक कनेक्टिभिटी रहेको यस सडकमा भारी हिमपात भएपछि अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ–डोल्पा सडक निर्माण गरिरहेको छ । मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म कच्ची सडक विस्तार भइसकेको छ । उपल्लो डोल्पाका नागरिकहरूलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा–काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा धेरै छोटो मार्गका रूपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ–डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्र्याक खोलेको हो । यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पु¥याउन तथा मुस्ताङीहरूलाई भेडाच्याङ्ग्रा र याकचौरी ल्याउनसमेत मुस्ताङ–डोल्पा सडक विस्तार गरिएको थियो ।

समुद्री सतहबाट ४ हजार मिटर अग्लो उचाइबाट विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक भारी हिमपातका कारण अवरुद्ध भएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । मुस्ताङकै सबैभन्दा कान्छो गाउँका रूपमा परिचित मुस्ताङ र डोल्पाको सिमाना नजिकै रहेको साङ्ता गाउँसम्म र त्यहाँबाट डोल्पा जाने छार्का ताङसोङसम्मको सडकमा पुरै हिउँ जमेका कारण लगातार १० दिनदेखि सडक अवरुद्ध भएको वडाध्यक्ष गुरुङको भनाइ छ । सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारी साधन लैजान नसकिने अवस्था रहेको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

Advertisement

मुस्ताङ–डोल्पा सडकको ट्रयाक जोडिएको भए पनि सडक असहज र जटिल भएका कारण मुस्ताङबाट छुकसम्वसम्म गाडी लैजान मिल्ने भए पनि हाल त्यो पनि पूर्ण रूपमा रोकिएको वडाध्यक्ष गुरुङले जनाए ।

हिउँ पन्छाएर सडक सञ्चालन गर्न २ वटा डोजर माग गरिएको छ

Advertisement

हिमपातका कारण सडक सञ्चालन गर्ने पहल भइरहेको वडाध्यक्ष गुरुङले बताए । मुस्ताङ–डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बाग्लुङलाई दुई वटा डोजर माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरी, एक साताअघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक साताअघिदेखि विद्युत र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए । साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।

यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले सोलारबाट सञ्चालन गर्ने गरी बिटिएस जडान गरी सञ्चारको पहुँच स्थापित गरेको थियो । यी दुवै सेवा हिमपातका कारण अवरुद्ध भएकाले साङ्ता गाउँका स्थानीय विद्युत र सञ्चार सम्पर्कबाट विमुख हुनुपरेको वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताए ।

तर, त्यहाँका वडाध्यक्ष सुरेन्द्र गुरुङले विद्युत र सञ्चारका लागि स्थापित गरिएको सोलार प्यानलमा बाक्लो हिउँ जमेकाले विद्युत र सञ्चार सेवा रोकिन पुगेको बताए । राज्यले यति ठूलो लगानी गरेर विद्युत र सञ्चारको पहुँच स्थापित गरेपछि त्यसको सञ्चालन तथा व्यवस्थापनमा स्थानीयले ध्यान दिनुपर्ने बताए । उनले त्यहाँ विद्युत र सञ्चार उपकरण सञ्चालन गर्ने सोलार प्यानलको हिउँ पन्छाएमा सेवा सुचारु हुने दाबी गरे । हिमपातले विद्युत र सञ्चार उपकरणमा कुनै क्षति नभएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

भौगोलिक रूपले अत्यन्तै विकट स्थानमा रहेको साङ्ता गाउँमा १३ घरधुरीको बसोबास छ । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको ८ महिना गाउँमै बस्छन् भने हिउँदको ४ महिना फल्याक र जोमसोमलगायतका स्थानमा आएर जाडो छल्ने गर्छन् । साङ्ता गाउँमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा ३४ जना मतदाता रहेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया