भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम

समाधान संवाददाता २०८२ कार्तिक २२ गते ७:१९

पोखरा। भद्रकाली माध्यमिक विद्यालय, पोखरा–१३ को आयोजनामा ‘सामुदायिक विद्यालय क्लस्टर, कास्कीका सदस्य विद्यालयहरूको बीचमा माध्यमिक तह स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता’ सम्पन्न भएको छ।

प्रतियोगितामा क्लस्टर भित्रका १० विद्यालयहरूको सहभागिता थियो। लिखित र क्विज गरी दुई चरणमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा भद्रकाली माविबाट सोनु थापा, गौरव बराल तथा हाफसा मियाको समूह प्रथम भयो। यस्तै, शितलादेवी सामुदायिक माविबाट मेयान्सा गुरुङ, एन्जल रेग्मी र आवृत्ति बरालको समूह दोस्रो तथा छोरेपाटन माविबाट समर्पण लामिछाने, सुप्रद ढकाल र सिवानी सुवेदीको समूह तेस्रो भए।

कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक गुरुङले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान, गणित सिकाइप्रति अभिरुचि बढाउन र सदस्य विद्यालयहरूका बीचमा असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

Advertisement

प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको क्विज मास्टरको रूपमा सहायक प्रअ प्रदीप भण्डारी र विज्ञान शिक्षक भेषबहादुर केसीले, प्रविधिमा शिक्षक राजकुमार आर्यन र प्रितम श्रेष्ठले र स्कोरिङमा शिक्षक लक्ष्मी शर्मा र विनोद अधिकारीले सहजीकरण गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया