भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८२ कार्तिक २३ गते ५:५५

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत नयाँ विद्यार्थीहरूलाई शनिबार स्वागत गरिएको छ। कक्षा १२ का सबै विद्यार्थी र भद्रकाली माविको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो। प्राध्यापक तथा शिक्षासेवी रामगोपाल ढेवाजूले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरे।

Advertisement

प्राध्यापक ढेवाजूले विद्यार्थीहरूलाई शिक्षकलाई गुरु मात्र नभई जीवनका सल्लाहकारका रूपमा पनि हेर्न अनुरोध गरे। उनले शिक्षकहरू विद्यार्थीका पथप्रदर्शक भएको बताए।

विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले विद्यार्थीहरूलाई नियमित उपस्थित भई अनुशासनपूर्वक अध्ययन गरेर अगाडि बढ्न जोड दिए। विद्यालयका कक्षा ११ र १२ का संयोजक उपेन्द्र सुवेदीले बालबालिकाहरूसँग फरक-फरक क्षमता हुने र क्षमतावान व्यक्तिहरू विश्वव्यापी रूपमा फैलिएको बताए। विज्ञान संकायका संयोजक पिताम्बर अर्यालले यसभन्दा अगाडिका विद्यार्थीहरूले जसरी विद्यालयको गरिमा वृद्धिका लागि नयाँ विद्यार्थीहरूले पनि मेहनत गर्नुपर्नेमा जोड दिए।

Advertisement

कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत शुष्मा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष हरिकला श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। दोजिना गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यार्थीहरू विशाखा महर्जन र पर्वत सुनारले सञ्चालन गरेका थिए। भद्रकाली क्यान्टिन सञ्चालक तथा कलाकार सुदिप तिमिल्सिनाले क्यारिकेचर प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पारेका थिए।

विसं २००८ मा स्थानीय समाजसेवीको अगुवाइमा स्थापित भद्रकालीमा हाल नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ । एसइई र अरु परीक्षामा समेत उत्कृष्ठ नतिजा ल्याएको भद्रकालीमा २ हजार विद्यार्थी अध्ययनरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया