
पोखरा ।
पोखरा महानगरपालिकाले दायरा बिस्तार गर्नुको साटो कर बढाउँदा करदाता आक्रोशित बनेका छन् । पोखराका व्यवसायी अशोक पालिखेले सामाजिक सञ्जालमा लेख्छन्, ‘मेयर सा’ब भन्नुहुन्छ, अलिअलि बढेको हो, तर, गतवर्षको रसिद र यो वर्षको रसिद हेर्नुहोस्, डबलभन्दा बढी छ ।’ उनले आफ्नो विद्यालयको भूभि करवापत तिरेको रसिद सामाजिक सञ्जालमा राख्दै आक्रोश पोखेका थिए ।
पालिखेका अनुसार गत आवमा ९ हजार ५७२ रुपैयाँ करको रसिद आएकोमा यस वर्ष १६ हजार ७८५ रुपैयाँ पुगेको छ । करको दायरा भन्दा बाहिर रहेका धेरै व्यवसायीलाई करको दायरामा समेट्न नसकेको महानगरले नियमित कर तिरिरहेका व्यवसायी र प्रतिष्ठानलाई मात्रै कर थोपर्ने गरेको भन्दै उनको आक्रोश छ । उनी भन्छन्, ‘जसले नियमित कर तिरेको छ, उसलाई मात्र पेल्ने नीति जायज छैन ।’
त्यसमाथि कर तिर्न जाँदा महानगरमा कर्मचारीले दिने दुःख अझ अर्को दिक्कलाग्दो छ । सरकारलाई पैसा तिर्न जाँदा पनि १०/१२ वटा कागज मागेर हैरान गर्ने गरेको पालिखेको गुनासो छ । उता, व्यवसायीहरु ग्रामीण र सहरी भेगमा महानगरले एकै दरमा कर उठाइरहेको भन्दै यसमा समेत असन्तुष्ट देखिन्छन् । पोखरा–३० शिशुवामा शुभकामना टेडर्स सञ्चालन गरिरहेका राजेन्द्र ओझा व्यापार नचल्ने र एकदमै चल्ने क्षेत्रमा बराबर कर लगाउँदा ग्रामीण क्षेत्रमा व्यवसाय गर्न कठिन भएको गुनासो गर्छन् ।
व्यापार भए पनि नभए पनि महानगरले उठाउने कर समान हुँदा ग्रामीण भेगका व्यवसायी समस्यामा परेको उनको भनाई छ । ‘पोखराको महेन्द्रपुल, चिप्लेढुंगा र अति नै ग्रामीण क्षेत्रमा कर समान हुँदा अन्याय भएको छ,’ उनी भन्छन् । सबैतिर समान कर उठाउने हो भने विकास निर्माणका कामले ग्रामीण भेगमा समेत गति लिनुपर्ने उनको भनाई छ । महानगरसँग घरबहाल घर, व्यवसाय कर, सवारी कर, मालपोत कर, विज्ञापन कर, पर्यटन शूल्क, नक्सा पास दस्तुरजस्ता शीर्षकमा आन्तरिक राजस्व उठाउने अधिकार छ ।
पोखरा एकातर्फ लक्ष्य अनुसार राजस्व उठाउन असफल देखिन्छ भने अर्कोतर्फ करको दर बढाउने नीतिमा देखिन्छ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ५५ करोड ५१ लाख ४० हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । ११ महिनामा ९६ करोड ७३ लाख ५४ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ । आन्तरिक राजश्व संकलनको लक्ष्य महानगरले कुनै पनि वर्षमा भेटाउन सकेको छैन । जानकारहरुका अनुसार महानगरको करको दायरा बाहिर रहेका घाटदेखि पार्किङसम्मलाई करको दायरामा ल्याउन नसक्दा वार्षिक करोडौं राजस्व गुमिरहेको छ ।
घट्दैछ आन्तरिक राजस्व
आव २०७७/७८ मा २ अर्ब १७ करोड ८ लाख ६८ हजार ८०५ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको पोखरा महानगरपालिकाले आव २०७८/७८ मा भने २ अर्ब ११ करोड रुपैयाँ मात्र उठाउन सक्यो । त्यसपछिका हरेक आवमा यो क्रम रोकिएको छैन । संकलन नै घट्न थालेसँगै महानगरले समेत लक्ष्य नै कटौती गर्न थालेको देखिन्छ ।
महानगर एकातर्फ लक्ष्य अनुसार राजस्व उठाउन असफल छ भने अर्कोतर्फ दर बढाउने नीतिमा छ
आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५० करोड ४७ लाख १२ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको पोखरा महानगरपालिकाले गत आवमा मात्र १ अर्ब ५५ करोड ५१ लाख ४० हजार लक्ष्य राखेको थियो । जसमा १ अर्ब २४ करोड २६ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ ।
पोखरा महानगरपालिकाको पछिल्लो ५ वर्षको आन्तरिक राजश्व लक्ष्य र प्राप्ति

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले कर तिरिरहेका व्यवसायीको ढाड सेक्नु भन्दा करका नयाँ नयाँ स्रोत खोज्न महानगरलाई आग्रह गर्छिन् । आर्थिक अवस्था दयनीय रहेको वर्तमान अवस्थामा साना व्यवसायीलाई करमा कस्नुको साटो विभिन्न छूटसहित प्रोत्साहनको खाँचो रहेको उनले बताइन् ।
कोभिड महामारीदेखि जेन जी आन्दोलनसम्म आउँदा व्यवसायीक क्षेत्रले धेरै कठिनाइ सामना गर्नु परेको उनी बताउँछिन् । करको दायरा बिस्तार गरी सबैलाई समेट्ने नीतिमा काम गर्न समेत उनले सुझाव दिइन् ।
महानगरका ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा समान करका कर लागू नगर्न समेत उनको सुझाव छ । उनी भन्छिन्, ‘पोखरा–३३ को ग्रामीण क्षेत्रमा एउटा चिया पसल गरेर दिनमा ५ सय रुपैयाँ व्यापार गर्न नसक्ने व्यवसायीले तिर्ने कर र पोखरा महानगरपालिकाको व्यस्त शहरमा सोही व्यवसायबाट तिर्ने कर बराबर हुनु भएन ।’ करको सिद्धान्त अनुसार करदाताले मर्का परेको अनुभव नगर्ने गरी सरकारले कर लिनुपर्ने उनको भनाई छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महानगरभित्र रहेका व्यवसायी सबैलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । सबैलाई करको दायरामा ल्याउन सके अहिलको करको दरको आधा लिएपनि महानगर समृद्ध हुने उनको अनुभव छ । ‘जो करको दायरामा छैन, उसले उन्मुक्ति पाइरहेको छ, उनले भने ।
किन घट्दैछ राजस्व ?
स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा राजस्व परामर्श समिति रहने प्रावधान छ । पोखरा महानगरपालिकामा उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा राजस्व परामर्श समितिले काम गर्छ । जसमा उद्योग वाणिज्य संघ, व्यवसायी, घरेलु उद्योगका प्रतिनिधि सदस्य हुन्छन् । राजस्व परामर्श समितिमा छलफल गरेरै करको दर हेरफेर गर्ने गरेको पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बताइन् । तर, पछिल्लो समय महानगरको राजस्व संकलन घटेको उमेयर गुरुङ समेत स्वीकार गर्छिन् ।
दायरा बढाउन नसकिएकै कारण लक्ष्य अनुसार राजस्व उठ्न नसकेको उनको भनाई छ । करको दायरा बढाउन महानगरपालिकाले चरणबद्ध कार्यक्रम भने चलाइरहेको उपमेयर गुरुङको दावि छ । यस विषयमा राजस्व परामर्श समितिमा पनि पटकपटक छलफल गरिएको उनले जानकारी दिइन् । ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा समान कर लगाउँदा ग्रामीण भेगमा धेरै असर नगर्ने उनको दावि छ ।
अनुमानका आधारमा तोकिन्छ कर
पोखरा महानगरपालिका अन्तर्गत सहरी योजना आयोगका पूर्वउपाध्यक्ष डा. आरसी लामिछाका अनुसार महानगरसँग कति व्यवसायी छन् भन्ने तथ्यांक छैन । उनी भन्छन्, ‘महानगरभित्र कति खुद्रा साना व्यवसायी छन् भन्ने तथ्यांक महानगरसँग छैन । तथ्यांक नहुँदा सबैलाई करको दायरामा ल्याउन सक्ने अवस्था छैन ।’
इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका लामिछानेले करको तौल हचुवा र वैज्ञानिकताबिना नै तोक्न नहुन बताउँछन् । ‘कतिपय व्यवसायीको घरजग्गा पास भएका छैनन् । एक तला नक्सा पास भएका छन् । ५ तला घर बनेका छन् । ठूलो मात्रामा करको दायरामा आउनुपर्ने व्यवसायी आउन सकेको छैन,’ उनले भने ।
व्यवसायीलाई कर लगाउँदा वर्गिकरण गरेर लगाउनुपर्नेमा लामिछानेले जोड दिए । त्यसमाथि व्यवसायिक वातावरण बनाउन समेत सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । उद्योग वाणिज्य संघ र साना उद्योगमा दर्ता भएका व्यवसायी दरको दायरामा आउनुपर्छ भन्ने मान्यता रहेपनि अहिले व्यावसायिक अवस्था सन्तोषजनक नरहेको उनको भनाई छ । यसको सुधारमा सरकारले काम गर्नुपर्ने उनको सुझाव छ ।









पोखरा महानगर : कर बढ्दा आक्रोश
पालुङटारका डिलबहादुर श्रेष्ठ सम्पर्कविहीन
सम्पादकीय—शिक्षक र प्रत्यक्ष राजनीतिः बहसको चुरो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया