विसं २०८२ को सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १२:३१

काठमाडौं । गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले विसं २०८२ मा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको कीर्तिमान राखेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ का अनुसार, यो चलचित्रले गत शनिबारसम्म ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ (ग्रस कलेक्सन) कमाएको छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यस वर्ष प्रदर्शन भएका चलचित्रहरूमध्ये ‘जेरी अन टप’ ले यो सफलता हात पारेको हो । यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले ११ करोड ४१ लाख ८८ हजार ७८० रुपैयाँ कमाएको थियो ।

चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट पाएको साथ र मायाप्रति आफू सधैँ आभारी रहने बताए । उनले भने, ‘चलचित्र ‘जेरी अन टप’ अझै प्रदर्शनरत रहेकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिएको व्यावसायिक तथ्यांकचाहिँ चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको यो चलचित्रले स्वदेशकै साथै प्रवासको बजारमा पनि दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।’

Advertisement

सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीजस्ता कलाकारको अभिनय रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया