‘समयसापेक्ष पाठ्यक्रम आवश्यक’

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १६:१५

पोखरा ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको पोखरा क्याम्पसको ४४ औं वार्षिकोत्सव समारोह भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले औपचारिक कार्यक्रमको उद्घाटन गरे ।


कार्यक्रममा वन क्याम्पस पोखराको वस्तुगत अवस्था, शैक्षिक गतिविधि र अपेक्षित कार्ययोजनाको बारेमा उपकुलपति डा अर्याललाई सविस्तार अवगत गराइएको क्याम्पस प्रमुख डा नारायण गौतमले जानकारी दिए ।

वनविज्ञान अध्ययन संस्थानका डिन डा ठाकुर सिलवाल, पूर्व डिन प्राडा वीरबहादुर खनाल, क्याम्पस प्रमुख डा गौतम लगायत शिक्षक कर्मचारीको सहभागितामा अनौपचारिक छलफलको क्रममा संस्थान अन्तर्गतको पोखरा र हेटौडा क्याम्पसको संस्थागत अवस्था र गतिविधिका बारेमा उपकुलपति डा अर्याललाई जानकारी गराइएको छ ।

Advertisement


क्याम्पसका उपप्रा डा श्रीकान्त खतिवडाले पछिल्लो क्रममा त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी भर्ना दर जटिल बन्दै गएको विषय उपकुलपति डा अर्याललाई अवगत गराएको बताए । हरेक क्याम्पसमा भर्ना भएका विद्यार्थीसमेत छोड्ने र पलायन हुने समस्या रहेको उनले उल्लेख गरे ।

‘विद्यार्थी घट्दा क्याम्पसमा जनशक्ति व्यवस्थापन र कार्यरत शिक्षक कर्मचारीको वृति विकासमा अन्योल बढेको छ,’ उनले भने, ‘विद्यार्थीलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय मापदण्ड र धरातलीय यथार्थ अनुरुप बजारमुखी र समय सापेक्ष पाठ्यक्रमको विकास गर्न आवश्यक छ ।’

Advertisement

अन्तर्राष्ट्रिय मापदण्ड र धरातलीय यथार्थ अनुरुप बजारमुखी र समय सापेक्ष पाठ्यक्रमको विकास जरुरी


खतिवडाले विद्यार्थी आकर्षणका लागि अध्ययन अनुसन्धानमा आधुनिक सूचना प्रविधिको प्रयोग र शिक्षकका लागि परिणाममुखी क्षमता अभिवृद्धि एवं अभिमुखीकरण कार्यक्रम आवश्यक पर्ने उल्लेख गरे । उनले उपकुलपति अर्यालसँग स्नातक तहको समय तालिका र अवधि, विश्वविद्यालयका नाममा विभिन्न क्याम्पसमा रहेका चल अचल भौतिक सम्पत्तीको संरक्षण, उपयोग र व्यवस्थापनको बारेमा छलफल भएको जनाए ।


कार्यक्रममा उपकुलपति डा अर्यालले क्याम्पस प्रशासनले ध्यानाकर्षण गराइको विषयलाई आफूले गम्भीरतापूर्वक मनन गरेको प्रतिक्रिया दिए । उनले वन विज्ञान अध्ययन संस्थान अन्तर्गतका क्याम्पसलाई सकारात्मक रुपान्तरणका लागि प्रयत्न समेत गरिरहेकाले समयले सबैको साथ सहयोग मिलेमा छिट्टै परिणाम निस्कने विश्वास व्यक्त गरे ।


क्याम्पसको वार्षिकोत्सव समारोहमा वन तथा वातावरण मन्त्रायलका निमित्त सचिव डा रामचन्द्र कँडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा धीरेन्द्रकुमार प्रधान, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव मोहनराज काफ्ले लगायतले बोलेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त वन क्याम्पस पोखरालाई सरोकारवालाले वन विज्ञान र जैविक विविधताको उत्कृष्ट शैक्षिक संस्था बनाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया