१० औं पाेखरा महाेत्सवकाे तयारी अन्तिम चरणमा

समाधान संवाददाता २०७६ पुष २७ गते १२:३७

समाधान संववादता
पोखरा

पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड क्लब पोखराको आयोजनामा हुने १० औं संस्करणको महोत्सव पुस २९ देखि १२ माघ गतेसम्म हुनेछ ।

आयोजक युनाइटेड क्लबले शनिवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी सकिएको जनाएको हो । महोत्सवबाट पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएको क्लबका अध्यक्ष लालकाजी गुरुङले उल्लेख गरे । उनले पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमीसहित सेती नदी संरक्षणमा काम गर्दै आएको उनले सुनाए ।

Advertisement

पोखरा ३०, ३१ र ३२ मा रहेका पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टरमा खुला चिडियाखाना भइरहेको छ । यसका लागि क्लबले हालसम्म ५५ लाख प्रदान गरिसकेको छ । चिडियाखाना निर्माणलाई निरन्तरता दिन क्लबले पहल गरिरहेको उनले बताए ।

क्लवले महोत्सव प्रवेश टिकटबाट प्रति टिकट १ रुपैयाँ सेती नदी संरक्षणमा छुट्याएको छ । क्लबले यो क्षेत्रमा आइपर्न सक्ने विपद व्यवस्थापनका लागि अक्षय कोषसमेत स्थापना गरेको छ । यसपालिको महोत्सवमा २ सय ५६ वटा स्टल छन् ।

Advertisement

१३ दिनसम्म चल्ने महोत्सवमा विभिन्न जाति, जनजातिका कला, संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादन प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामानको प्रदर्शनी एवं बिक्री हुनेछ । सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यावसायीक संघ संस्थाको सेवाबारे जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको जानकारी, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकार बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, राम्जी ख“ाड, मीलन लामा, कृष्ण गुरुङ, प्रिती आले, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहालसहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका ब्यान्डहरु मंगोलियन हर्ट, कोववेव, सुगम पोख्रेल एन्ड बाजा गाजा व्यान्ड, मन्त्र ब्यान्ड, सविन राइ एन्ड फारोह ब्यान्ड, अर्को मुखर्जी एन्ड द कलेक्टिभ ब्यान्ड, लाहुरे, भिटेन, मेलिना राई, सनिस श्रेष्ठ, अनुप्रस्था र लोकल ब्यान्डहरुको प्रस्तुति रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले बताए ।

महोत्सवमा हांस्यव्यंग्य प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्किने लोक नृत्य, शैक्षिक जागरण ल्याउने डकुमेन्ट्रीसमेत प्रदर्शन हुने छन् । अपांग, वृद्धवृद्धा, एकल महिला, पत्रकार र सुरक्षाकर्मीले महोत्सवमा सित्तैमा प्रवेश पाउने छन् । पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थलका बारेमा जानकारी दिनेलाई सित्तैमा स्टल उपलब्ध गराइएको छ भने कृषि तथा हस्तकलाका स्टललाई विशेष छुट दिइएको छ ।

महोत्सवमा करिब अढाइ लाखले अवलोकन गर्ने र १ करोड ४० लाख आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवबाट ३९ लाख ५० हजार रुपैयाँ बचत हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया