९८ लाखमा किरियापुत्री भवन

समाधान संवाददाता २०७६ पुष २७ गते १३:३६

समाधान संवाददाता, दमौली

तनहुँको व्यास नगरपालिका ३ व्यास गुफा परिसरमा ९८ लाख रुपैयाँको लागतमा आवासीय किरियापुत्री भवन निर्माण भएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको चन्दा संकलनबाट उठेको ९८ लाख ३२ हजार ७ सय ११ को लागतमा किरियापुत्री भवन निर्माण भएको हो ।

किरियापुत्री भवन निर्माणका लागि व्यास नगरपालिकाले ३६ लाख ७६ हजार ७ सय ९७, व्यास नगरपालिका ३ वडा कार्यालयले २ लाख ६० हजार सहयोग गरेको थियो । भवन निर्माणमा सहयोग रसिदबाट ४५ लाख ३९ हजार ४ सय ७३ संकलन भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए । भवन निर्माणका लागि नेपालका विभिन्न ठाउँका साथै विदेशबाट समेत रकम संकलन भएको थियो ।

Advertisement

निर्माण समितिले उक्त भवन व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ । भवनको साँचो समितिका अध्यक्ष लम्सालले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे । उक्त भवनको सञ्चालन व्यास नगरपालिका ३ ले गर्ने समितिका अध्यक्ष लम्सालले जानकारी दिए ।

भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उपभोक्ता समितिले समयमा नै भवन निर्माण सम्पन्न गरेर नमूना काम गरेको बताए । दमौलीमा किरियापुत्री भवनको अभाव लामो समयदेखि खड्किएको हुनाले भवन निर्माण भएपछि किरिया बस्नेलाई सहज हुने वाग्लेले बताए ।

Advertisement

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले अनुमान भन्दा बढी रकम संकलन हुँदा किरियापुत्री भवन निर्माणमा सहजता भएको बताए । समितिका अध्यक्ष लम्सालले जिल्लाका सञ्चारमाध्यमको महत्वपूर्ण सहयोगका कारण रकम संकलन गर्न सहज भएको बताए । लम्सालले भने, ‘रकम संकलनका लागि कसैलाई पनि दबाब दिनुपरेन, फोन गर्नुपरेन । स्वतःस्फूर्त रुपमा नै चन्दादाताले रकम दिनुभयो ।’

लम्सालका अनुसार सहरिया साँघुरो र घना बसाई व्यवस्था युक्त हाम्रो रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढंगले सम्पन्न गर्न कठिनाई भएकाले आवासीय भवन निर्माण गरिएको हो । २ हजार ९ सय वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवाहरु बस्ने कक्ष बाहेक ८ कोठा छन् ।

यसैबीच भवन निर्माणको क्रममा १ लाख भन्दा बढी दान दिने दातालाई सम्मान गरिएको छ । भवन निर्माणको लागि ५ लाख नगद र २ लाख ५० हजार मूल्य बराबरको जग्गा प्रदान गर्ने बन्दीपुर भीमसेन गुठी, ५ लाख २ हजार सहयोग गर्ने बन्दीपुर गाउँपालिका १ डुम्रेका धु्रवकुमार प्रधान, ३ लाख ५१ हजार सहयोग गर्ने तनहुँ घर भई काठमाडौ बस्ने पदमचन्द्र पौडेल, रामचन्द्र पौडेल र दिलीपचन्द्र पौडेल, १ लाख १ प्रदान गर्ने व्यास नगरपालिका ३ सफा सडकका राजकुमार श्रेष्ठ, १ लाख १५ प्रदान गर्ने व्यास नगरपालिका ३ सफा सडक निवासी मिनराज श्रेष्ठ र १ लाख प्रदान गर्ने माछापुच्छ्रे बैंकलाई समितिले सम्मान गरेको छ ।

समाधानकर्मी न्यौपाने सम्मानित
निर्माण उपभोक्ता समितिले समाचार सम्प्रेषणमा सहयोग पुर्‍याए बापत समाधान दैनिकका संवाददाता कृष्ण न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । भवन निर्माणको क्रममा समाचार सम्प्रेषण गरेर चन्दा संकलन गर्न महत्वपूर्ण योगदान पुर्‍याए बापत समितिले न्यौपानेलाई ५ हजारसहित प्रशंसापत्रले सम्मान गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख वाग्ले र व्यास नगरपालिकाका प्रमुख न्यौपानेले कृष्णलाई सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया