कास्कीमा अझै १९८ कैदीबन्दी फरार

समाधान संवाददाता २०८२ कार्तिक २९ गते १८:५६

पोखरा ।


जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १ सय ९८ जना कैदीबन्दी अझै फरार छन् । आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७ सय ७३ जना मध्येमा कोही आफँं फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कारागार नफर्की हालसम्म फरार रहेकामा १ सय ८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । तीमध्ये १३ जना विदेशी छन् ।

Advertisement

विदेशीमा ११ जना भारतीय र २ चिनियाँ छन् । कास्कीबाट भागेकामध्ये १९ जना अन्य जिल्लामा समातिएका थिए । अन्य जिल्लाबाट भागेका ७ जना कास्कीमा पक्राउ परेको जनाइएको छ । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए ।

उनले भने, ‘प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेका मध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् । केहीलाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाको खोजी प्रहरीले गरिरहेको छ ।’ फरार कैदीहरूमा लागुऔषधसम्बन्धी मुद्दा र लामो समयको सजाय तोकिएका बढी छन् ।

Advertisement


आजीवन कारावासको सजाय तोकिएका २ जनामध्ये १ जनालाई म्याग्दीबाट पक्राउ गरिएको र एक जना अझै फरार रहेको बताइन्छ । आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागारले गत असोज १२ गते सूचना जारी गरी असोज २० गतेसम्म फर्कन समय दिएको थियो । तर तोकिएको समयभित्रमा कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको प्रहरीले खोजी गरिरहेको छ ।


कारागार प्रशासनले फरार रहेकाहरू प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कानुन अनुसार कारबाही हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया