कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नजाने

समाधान संवाददाता २०८२ कार्तिक ३० गते १८:४५

पोखरा । कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नजाने जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ। आइतबार दिउँसो सभामुख घिमिरेलाई भेटेर कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो जानकारी गराएका हुन्। यसै भेटमा एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि सहभागी थिए।

भेटका क्रममा श्यामकुमार घिमिरेले पार्टीभित्र प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एकमत नभएकाले यस निर्णयमा जान नसकिने बताए। उनका अनुसार, ‘पुनर्स्थापनाका पक्षमा पार्टीभित्र एक मत भएन। डा. शेखर कोइराला समूह र महामन्त्रीज्यूहरू पुनर्स्थापनाको पक्षमा देखिएनन्।’ उनले थपे, ‘त्यसैले पार्टीले पुनर्स्थापनाको पक्षमा निर्णय नलिने भयो।’ यसरी उनले सभामुखलाई पार्टीको औपचारिक निर्णय सुनाए।

यस भेटघाटलाई अनौपचारिक भनिए पनि, कांग्रेसका प्रमुख सचेतकले सभामुखलाई दिएको यो जानकारीले महत्त्वपूर्ण अर्थ राख्छ। स्रोतका अनुसार, कांग्रेसका अन्य नेताहरूलाई पनि श्यामकुमार घिमिरेले पार्टी पुनर्स्थापनाको पक्षमा नजाने जानकारी सभामुखलाई गराएको बताएका छन्।

Advertisement

यता एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँगको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिए। रातोपाटीसँग कुरा गर्दै बर्तौलाले भने, ‘औपचारिक भेटघाट होइन। हामीले नै आउँछौँ भनेर सभामुखज्यूलाई भेट्न गएका थियौँ।’ उनले थपे, ‘प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा कुराकानी भएन। वर्तमान राजनीतिबारे सभामुखले सोधे। हामीले अहिलेको अवस्थाबारे ब्रिफिङ गर्‍यौँ।’

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले भने घिमिरे र बर्तौलाले सभामुखलाई भेटेको बताए पनि कुराकानीका विषयमा आफूलाई जानकारी नभएको स्पष्ट पारे।

Advertisement

तपाईको प्रतिक्रिया