राधाकृष्ण वृद्धाश्रमको १३ औँ साधारण सभा

वृद्धाश्रम ज्येष्ठ नागरिकको दुःख–सुख साटासाट गर्ने थलो हो

समाधान संवाददाता २०८२ मंसिर १ गते १०:५२

लेखनाथ ।
पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रम सञ्चालक समितिको १३ औँ साधारण सभा सम्पन्न भएको छ । समाजसेवा, मानवता र ज्येष्ठ नागरिकको सम्मानलाई केन्द्रमा राखेर कार्यरत यस संस्थाले आफ्ना गतिविधि, उपलब्धि र आगामी योजनाहरू सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।


कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले वृद्धाश्रमलाई स्थानीय सरकारको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै वृद्धाश्रम ज्येष्ठ नागरिकको दुःख–सुख साटासाट गर्ने थलो भएकाले यहाँ स्वस्थ, शान्त र आत्मीय वातावरण उपलब्ध गराउनु अहिलेको आवश्यकता हो भनेर आफ्नो भनाइ राखे ।


सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले ज्येष्ठ नागरिक अनुभव, ज्ञान र संस्कारका धनी भएको भन्दै उनीहरूकै अनुभवमा समाज अघि बढ्ने बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिक हाम्रो घरका दिशानिर्देशक मात्र होइनन्, समाजका संस्कार र संस्कृतिका आधार स्तम्भ हुन् ।’

Advertisement


कार्यक्रममा सिड फाउन्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापाले संस्थाको प्रारम्भिक अवस्थादेखि हालसम्मको यात्रामा धेरै उतारचढाव आए पनि समर्पण, सेवा–भावना र सामुदायिक सहयोगमा भरपर्दै संस्थाले महत्त्वपूर्ण प्रगति गरेको बताए । उनले १३ वर्षअघि खुला आकाशमुनिबाट सुरु भएको आश्रमले आज ‘साझा घर’ को रूप लिइसकेकोमा जोड दिए ।

साथै उनले आश्रमसँग सम्बन्धित राधाकृष्ण मन्दिर, भजन समूह र गुरुकुल विद्याश्रमलाई एकीकृत विकास गर्नुपर्ने समय आएकाले भने, ‘हामी सबैको एउटा हातले मात्र सम्भव हुँदैन । धेरैका हात मिलेर मात्रै ’राधाकृष्ण परिवार’ अझ सक्षम र आत्मनिर्भर बन्न सक्नुपर्छ ।’

Advertisement


आश्रमका प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले स्वागत मन्तव्य राख्दै संस्थाको यात्रा, उद्देश्य र सेवाप्रवाहलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । साथै उनले भने, ‘हामी सबैजना आज होइन भोलि यही अवस्थामा पुग्छौँ । त्यसैले वृद्ध सेवा कुनै दया होइन, हाम्रो कर्तव्य हो ।’


कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु समाजसेवी राजेन्द्रमणि लामिछाने, राधाकृष्ण मन्दिरका सह–संयोजक गणेशबहादुर खत्री, संस्थापक अध्यक्ष प्रेम लिगल, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, समाजसेवी मनमाया लामा, उज्जल आमा समूहकी अध्यक्ष जमुना गिरी लगायतले ज्येष्ठ नागरिक सेवालाई निरन्तर सुदृढ बनाउँदै लैजान संस्था तथा समाजका सबै क्षेत्रको जिम्मेवारी रहेको उल्लेख गरे ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनबाट निर्वाचित टिम सहित आश्रममा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक विष्णुभक्त कुँइकेललाई सम्मान गरियो । सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले आश्रमलाई विभिन्न उपयोगी सामग्री हस्तान्तरण गरे ।


आश्रम सञ्चालक समितिकी महासचिव रजनी लामिछानेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विश्वराज लामिछानेले आश्रमले वृद्धहरूका लागि सुरक्षित, पारिवारिक र आत्मीय वातावरण सिर्जना गर्नु नै संस्थाको प्रमुख लक्ष्य भएको बताए ।

उनले भने, ‘हाम्रो गृहमा बस्ने प्रत्येक वृद्धले आफू परिवारमै बसिरहेको अनुभूति पाउने गरि सेवा दिने गरेका छौँ ।’ विसं २०६९ सालमा स्थापना भएको राधाकृष्ण वृद्धाश्रममा हाल पारिवारिक विखण्डन, एक्लोपन, आर्थिक समस्या, स्वास्थ्य जटिलता जस्ता कारणले घर–परिवारबाट टाढिन बाध्य भएका ६० जना ज्येष्ठ नागरिक सुरक्षित रुपमा बसोबास गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया