फागुन २१ को चुनावका लागि प्रदेश प्रमुख सचिवको कमाण्डमा ‘प्रदेश कमाण्ड पोष्ट’ र ‘निर्वाचन सेल’

समाधान संवाददाता २०८२ मंसिर ३ गते १९:३४

पोखरा ।  गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र भयरहित बनाउन ‘प्रदेश कमाण्ड पोष्ट’ र ‘निर्वाचन सेल’ सक्रिय बनाउने निर्णय गरेको छ ।

आज (आइतबार) मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार प्रदेशस्तरमा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले विगतका निर्वाचनको अनुभव र सिकाइका आधारमा ‘रोबस्ट सेक्युरिटी’ (मजबुत सुरक्षा) व्यवस्था मिलाउने निष्कर्ष निकालेको छ । यसका लागि प्रदेशस्तरमा प्रदेश मुख्य सचिवको संयोजकत्वमा ‘कमाण्ड पोष्ट’ रहनेछ । जसमा प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य रहनेछन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई आमन्त्रित सदस्य राखिनेछ ।

Advertisement

यो संयन्त्रलाई सक्रिय बनाउन र प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशका प्रमुख सचिवहरूलाई निर्देशन पठाइने निर्णय भएको छ । सरकारले बनाएको एकीकृत सुरक्षा योजना हाल कार्यान्वयनको चरणमा गइसकेको छ ।

बैठकमा चारवटै सुरक्षा निकायले मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारे प्रस्तुति दिएका थिए । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार वर्तमान अवस्थालाई मध्यनजर गर्दै सबै सुरक्षा निकायले एक–आपसमा उच्च समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

Advertisement

निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले यो विशेष सुरक्षा योजना अघि सारेको हो ।

तपाईको प्रतिक्रिया