नेपालको सार्वभौम साख रेटिङ फेरि पनि ‘बिबि माइनस’, कमजोर सरकारी वित्त र जेनजी आन्दोलन मुख्य चुनौती

काठमाडौं । नेपालले यस वर्ष पनि सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बिबि माइनस’ रेटिङ पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको रेटिङ गत वर्षकै स्तरमा स्थिर देखिएको हो । कात्तिक १८ देखि २० गतेसम्म नेपाल आएर स्थलगत अध्ययन गरेको फिचको टोलीले दुई सातापछि प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो । गत वर्ष मंसिर ७ गते पनि नेपालले सोही रेटिङ पाएको थियो ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यसपछिको राजनीतिक तरलताले अर्थतन्त्रमा असर पर्न सक्ने आँकलन गरिएको थियो । विश्व बैंकले त जेनजी आन्दोलनपछि नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने प्रक्षेपण नै गरेको थियो । यी घटनाक्रमले रेटिङ खस्किने त्रास देखिए पनि फिचले नेपाललाई गत वर्षकै हैसियतमा अर्थात् ‘बिबि माइनस’ मै राखेको छ । यसले मुलुकको लगानीको वातावरण गत वर्षजस्तै रहेको देखाउँछ ।
रेटिङ स्थिर रहे पनि फिचले नेपालको सरकारी वित्त प्रणाली निकै कमजोर रहेको औंल्याएको छ । राजस्व संकलन र पुँजीगत खर्चमा देखिएको संकुचन तथा राजनीतिक अस्थिरताले आर्थिक संरचनामा सुधार गर्नुपर्ने सुझाव एजेन्सीको छ । यद्यपि, सहुलियतपूर्ण बाह्य ऋणको हिस्सा कम हुनु, बाह्य तरलताको अवस्था बलियो देखिनु र जलविद्युत क्षेत्रमा मध्यमकालीन वृद्धिको सम्भावना रहनुले रेटिङलाई ‘बिबि माइनस’ मा टिकाउन मद्दत पुगेको छ । फिचले अझै पनि नेपाल आर्थिक जोखिम र बाह्य उथलपुथलको घेरामा रहेको भन्दै सुधारको खाँचो औंल्याएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता ट्रकप्रसाद पाण्डेयले प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक मन्दीका बाबजुद पुरानै रेटिङ कायम हुनुलाई सकारात्मक मानेका छन् । ‘नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट संकेत दिएको छ,’ उनले भने । पाण्डेयका अनुसार यसले वैदेशिक लगानी बढाउन र भविष्यमा अन्तर्राष्ट्रिय बजारमा ऋण जारी गर्न सघाउ पुग्नेछ ।
यता नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थविद् नरबहादुर थापाले भने रेटिङमा सुधार नहुनु चिन्ताको विषय भएको बताए । ‘नेपाल आगामी वर्ष अल्पविकसित देशहरूको समूहबाट स्तरोन्नति हुँदैछ । स्तरोन्नति भएपछि नेपालले सहुलियतपूर्ण ऋणहरू पाउने सम्भावना कम हुन्छ । अनि हामीलाई त्यसको पूर्ति गर्न विदेशी लगानी चाहिन्छ,’ थापाले भने, ‘विदेशी लगानी नेपालमा ल्याउन लगानीको वातावरण छ भनेर विदेशी लगानीकर्तालाई आश्वस्त बनाउनुपर्छ । त्यसका लागि क्रेडिट रेटिङले काम गर्छ । त्यसैका लागि गरिएको हो । तर त्यो रेटिङ सुध्रिएन ।’
अर्थविद् थापाका अनुसार नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ४० देखि ४२ प्रतिशत हाराहारीमा छ, जसलाई नियन्त्रणभित्रै मानिन्छ । त्यसमा पनि विदेशी ऋणको हिस्सा आधा मात्र भएकाले जोखिम कम देखिएको हो । विदेशी मुद्राको सञ्चिति पर्याप्त हुनु र लगानीकर्ताले लाभांश फिर्ता लैजान सक्ने वातावरणले पनि रेटिङमा भूमिका खेलेको छ ।
मूल्यांकनका क्रममा फिचको टोलीले राजनीतिक अस्थिरता र आन्दोलनबारे चासो राखेको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले भने नेपालमा ठूला राजनीतिक परिवर्तन हुँदा पनि विदेशी लगानी र पर्यटकमाथि कहिल्यै आक्रमण नभएको भन्दै टोलीलाई आश्वस्त पारेका थिए । २०४६ र २०६२/६३ का आन्दोलनको उदाहरण दिँदै सरकारी अधिकारीहरूले लगानीको वातावरण नबिग्रने स्पष्ट पारेको एक उच्च अधिकारीले बताए ।
रेटिङ निर्धारण गर्नुअघि फिचको टोलीले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, निजी क्षेत्र र दातृ निकायहरूसँग छलफल गरेको थियो । निजी क्षेत्रबाट डाबर नेपाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), युनिलिभर र स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतसँग कुराकानी गरिएको थियो । साथै विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरिएको थियो ।








‘लैंगिक हिंसामुक्त समाज निर्माण सबैको साझा जिम्मेवारी’
गण्डकीमा हिमाल आरोहणको आकर्षण अझै बढ्न सकेन
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
तपाईको प्रतिक्रिया