कास्की मोडर्नाइज्डमा विद्यार्थीलाई उद्यमशीलता सिकाउन महोत्सव : आफैं सामान बनाएर बेच्दै

समाधान संवाददाता २०८२ मंसिर ६ गते ६:२७


पोखरा ।
पोखराको कास्की मोडर्नाइज्ड एकेडेमी सेकेण्डरी स्कुलमा विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले शुक्रबारदेखि ‘कास्की मोडर्नाइज्ड महोत्सव–२०८२’ सुरु भएको छ । कक्षाकोठाको पढाइलाई व्यवहारमा उतार्न र विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन विद्यालयले पहिलो पटक दुई दिने महोत्सव आयोजना गरेको हो ।

‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा विद्यार्थीले बनाएका विभिन्न हस्तकलाका सामग्री र परिकारहरु राखिएको छ । अभिभावक तथा आगन्तुकले ती सामग्री किन्ने र बिक्रीबाट आएको नाफा विद्यार्थी स्वयंले पाउने व्यवस्था विद्यालयले गरेको छ । महोत्सव शनिबारसम्म चल्नेछ ।

Advertisement

विद्यालयका संस्थापक प्रधानाध्यापक रामबहादुर मोचीले कक्षाकोठाको सिकाइले मात्र विद्यार्थी जीवनमा सफल हुन नसक्ने भएकाले बाहिरी ज्ञानका लागि महोत्सव आयोजना गरिएको बताए । उनले भने, ‘नाम र दाम दुवै कमाउनका लागि विद्यार्थीलाई यो महोत्सव सिकाइ हुनेछ । विद्यार्थीलाई पढाइसँगै वास्तविक जीवनको भोगाइ बुझाउन यो कार्यक्रम फलदायी हुने विश्वास लिएका छौं ।’ हरेक वर्ष गरिने अभिभावक दिवसले सबै विधा समेट्न नसक्ने भएकाले यसपटक फरक शैलीमा महोत्सव गरिएको उनले प्रष्ट पारे ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महोत्सवले विद्यार्थीका प्रतिभाको यथार्थ पहिचान गर्ने बताए । बालबालिकाले जन्मजात लिएर आएको प्रतिभालाई चिनेर जीवन बाँच्न सिकाउने काम विद्यालयले गरेको भन्दै उनले प्रशंसा गरे । ‘यो महोत्सव रमाइलोका लागि मात्र नभई सिकाइका लागि हो भन्ने अभिभावकले बुझ्नुपर्छ,’ आचार्यले भने, ‘विद्यालयले सिकाएका सीपलाई अभिभावकले व्यवहारमा लागू गर्न छोराछोरीलाई प्रेरित गर्नुपर्छ ।’

Advertisement

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले एन प्याब्सनमा हुने बाल प्रतिभा पहिचान कार्यक्रमको परिकल्पनाकार समेत रहेका प्रधानाध्यापक मोचीले आयोजना गरेको महोत्सव विद्यार्थीका लागि ठूलो अवसर भएको बताए । हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले विद्यार्थीका विविध क्षमता प्रस्फुटन गर्न महोत्सव उपयुक्त थलो बनेको धारणा राखे । रामेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष बोधराज बरालले निजी विद्यालयले गरेका यस्ता अभ्यास सामुदायिक विद्यालयका लागि पनि सिकाइ हुने बताए ।

महोत्सवको पहिलो दिन शुक्रबार नर्सरीदेखि कक्षा २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो । शनिबार कक्षा ३ देखि ७ सम्म र कक्षा ११ तथा १२ का विद्यार्थीको प्रस्तुति रहनेछ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सहायक प्रधानाध्यापक शिवलाल उपाध्याय, शैक्षिक प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी तथा विद्यार्थी जोसना गुरुङ र निशु गुरुङले मन्तव्य राखेका थिए । सो अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया