उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने

समाधान संवाददाता २०८२ मंसिर ८ गते १८:५३

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले अब निर्वाचनसम्बन्धी खर्च गर्न अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले चुनावमा गर्ने खर्चको पारदर्शिताका लागि यस्तो प्रावधान राखिएको हो ।

आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणको विषय समेटिएको छ । उक्त बुँदाअनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रयोजनको खर्च गर्नका लागि अन्य कारोबारमा प्रयोग नहुने गरी छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले निर्वाचन खर्चलाई बैंकिङ प्रणालीमार्फत पारदर्शी बनाउन खोजेको देखिन्छ ।

आयोगको प्रस्तावित आचारसंहिताअनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने सम्भावित रकमको अनुमान र सो खर्चको स्रोतसमेत खुलाउनुपर्ने छ । यसरी खुलाइएको रकमको जोहो कसरी गरिन्छ भन्ने विवरण उम्मेदवारी दर्ताकै क्रममा पेश गर्नुपर्ने हुन्छ । खर्चका लागि खोलिएको छुट्टै बैंक खातामार्फत मात्रै आर्थिक कारोबार सञ्चालन गर्नुपर्ने कुरा आचारसंहितामा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया