बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

समाधान संवाददाता २०८२ मंसिर ८ गते १९:३०

पोखरा । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै आफ्नै मृत्युको अफवाह फैलिएको खबर पढेका धर्मेन्द्रको सोमबार मुम्बईस्थित निवासमा निधन भएको ‘द हिन्दुस्तान टाइम्स’ले जनाएको छ । दुई साताअघि मात्रै उनलाई अस्पतालबाट घर ल्याइएको थियो ।

सन् १९६० देखि अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३ सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् । ‘शोले’ मा वीरूको बहुचर्चित भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता उनका चलचित्र सदाबहार मानिन्छन् । रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उनले आफ्नो बलियो छाप छाडेका छन् । बलिउड चलचित्रकर्मीसहित धेरैले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन् ।

सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । उनको अन्तिम चलचित्र ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ, जसको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो ।

Advertisement

धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन् ।

Advertisement

तपाईको प्रतिक्रिया