मिस तामाङको तयारी सुरु

समाधान संवाददाता २०८२ मंसिर ९ गते ११:३१

पोखरा ।
दशौं मिस तामाङ पोखरा २०२६ को तयारी औपचारिक रुपमा सुरु भएको छ । पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइबीच यसबारे छलफल भएको समाजले जनाएको छ ।


सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुँदै आएको छ । बैदाम तामाङ सेवा समाज अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु)ले महिला शिक्षित भए परिवार शिक्षित हुने र परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।


नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर, समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पुर्‍याउँदै आएकोमा जोड दिए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी, चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञानसहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति भएको तर्क गरे ।

Advertisement


वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपिढी सम्बन्ध मजबुत पार्ने महत्वपूर्ण माध्यमसमेत भएको बताएका छन् । छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समिति अध्यक्ष विष्णु तामाङ, तामाङ घेदुङ पोखरा महानगर कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले बोलेका थिए ।


माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा २०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी, चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याकले अनुरोध गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया