नेपाली-अमेरिकन एसोसिएसन लुइजियानाको साधारण सभा

समाधान संवाददाता २०८२ मंसिर ९ गते १२:१२

नेपाली समुदायको साझा पहिचान र एकताको प्रतीक बनेको नेपाली अमेरिकन एसोसिएसन लुइजियानाले नोभेम्बर २२ मा स्रिभपोर्टमा आफ्नो पहिलो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता श्रुणुती सिंहले गरेकी थिइन् भने सञ्चालनको जिम्मेवारी अश्वीन गजमेर र कैलाश ढकालले सम्हाले। अध्यक्ष सिंहले संस्थालाई “लुइजियानाका नेपालीहरूको साझा थलो” का रूपमा अघि बढाइने बताइन्।

सभामा विविध सांस्कृतिक प्रस्तुति, प्रमाणपत्र वितरण र संस्थापक सदस्यहरुलाई कदरपत्र प्रदान गर्दै समुदायप्रतिको सम्मान प्रकट गरिएको थियो।

Advertisement

कार्यक्रममा संस्थाका सचिव एलिना श्रेष्ठ भट्टराईले वर्षभरको गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। सँगै सुधा पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । साथै बोर्ड सदस्य रवि यादव र लक्ष्मी जोशीले पनि मन्तव्य व्यक्त गरे।

अफ्नो भावी दृष्टि साझा गर्दै अध्यक्ष सिंहले भनिन्, “यसलाई लुइजियानाभरका नेपालीको छाता संगठन बनाउने हाम्रो योजना रहेको छ।”

Advertisement

कार्यक्रममा लुइजियानाभर छरिएर बसेका नेपालीहरुको उल्लेखनीय सहभागिता थियो, जसले समुदायबीचको एकता र उत्साह झनै बढाएको देखियो।

साधारण सभा सम्पन्न भएपछि संस्थाका प्रतिनिधिहरुले स्रिभपोर्टका मेयरसँग भेटघाट गरी संगठनका गतिविधि र नेपाली समुदायको पहिचानबारे मैत्रीपूर्ण संवाद गरेका थिए।

तपाईको प्रतिक्रिया