गण्डकीमा हिमाल आरोहणको आकर्षण अझै बढ्न सकेन

राष्ट्रिय समाचार समिति (रासस) २०८२ मंसिर ९ गते १६:४६

गण्डकी ।

गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ । हिमाल आरोहणका दृष्टिबाट विश्वमा नै इतिहास रच्न सफल अन्नपूर्ण प्रथम रहेको यो प्रदेशअन्तर्गतका हिमालहरूमा आरोहणको अवस्था अत्यन्त नगण्य मात्रामा पाइन्छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै विश्वमा नै हिमाल आरोहणको विषयले चप चासो र चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै नेपाल पदयात्रा पर्यटनका लागि पनि विश्वको आकर्षक गन्तव्यका रुपमा विकास भएको थियो । आरोहणको इतिहासमा विश्व कीर्तिमानी कायम गरेको यस प्रदेशमा त्यसयता आरोहणका क्रमले भने अपेक्षित गति लिन नसकेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बताए ।

पर्वतीय पर्यटनसँगै हिमाल आरोहण यहाँको प्रचुर सम्भावना रहे पनि त्यसको राम्रोसँग उजागर हुन नसकेको उनले बताए । विश्वमा आठ हजार मिटर उचाइमाथिका १४  हिमालमध्ये आठ हिमाल नेपालमा पर्दछन् । जसमध्ये तीनवटा हिमाल गण्डकी प्रदेशभित्रै रहेका छन् । गण्डकी प्रदेशमा आठ हजार १६७ मिटर उचाइको धौलागिरि प्रथम, आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल हुन् । 

गण्डकी प्रदेशअन्तर्गतका जिल्लामा रहेका कुल १२१ हिमाललाई आरोहणका लागि खुला गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत थप विभिन्न १५ हिमाल आरोहणका लागि प्रस्ताव गरिएका छन् भने छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रतिबन्धित छ । विशेषतः गुरुङ समुदायको धार्मिक आस्था र विश्वासको माछापुच्छ्रे हिमालको फेदमा रहेको पूजनीयम बराहको धार्मिक महत्वसँगै प्राचीनकालदेखि नै यो हिमालको आरोहण नभएको पाइन्छ । कास्कीको घान्द्रुकबाट माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर जाने मार्गमा पर्ने यो बराह मन्दिरको अलौकिक शक्ति रहेको यहाँका स्थानीयवासी बताउँछन् ।

गण्डकी प्रदेशभित्र रहेको ६ हजार ५०० मिटरभन्दा बढी उचाइका ७१ हिमाल आरोहणका लागि अनुमति प्राप्त भएकामा विगत पाँच वर्षयता २२ हिमालको आरोहणका लागि मात्रै पर्यटन विभागमा अनुमति लिएको पाइएको छ । सन् २०२० देखि २०२४ भित्र सबैभन्दा बढी सन् २०२२ मा ८०४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै प्रदेशभित्र ६ हजार ५०० मिटरभन्दा कम उचाइका आरोहणका लागि खुला गरिएका ५० हिमालमध्ये सन् २०२० देखि २०२४ सम्ममा जम्मा पाँच हिमालका लागि ९०७ जनाले आरहेणको अनुमति लिएको पाइएको छ । गण्डकी प्रदेशभित्र हिमाल आरोहणका लागि सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा रहेको नेपाल पर्वतारोण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा पर्वतारोहणका लागि पर्यटक पथ प्रदर्शकको पनि कमी रहेको बताउँदै उनले पछिल्लो समयमा गोरखाको लाप्राकमा पर्यटक पथप्रदर्शकहरू थपिएको जानकारी दिए ।

पर्वतारोहणको सबै अनुमति पर्यटन विभागबाट हुने गरे पनि ६ हजार ५०० माथि र त्यहाँभन्दा तल उचाइ आदिका कारण अनुमतिको कही प्रावधान भने फरक रहेको उनले बताए । पछिल्ला समयमा गण्डकी प्रदेशमा आरोहणको आकर्षण बढाउन प्रयासहरु भने भइरहेको बताउँदै उनले नेपाल पर्वतारोहण सङ्घमार्फत पर्यटक गाइडका लागि तालिममा पनि जोड दिइएको बताए । सङ्घकै आयोजनामा यसअघि ६ हजार १२ मिटर उचाइको धम्पुस पिक र छ हजार १४४ मिटर उचाइको थोाराङ पिकको प्रवद्र्धनात्मक आरोहणसमेत गरिएको थियो ।

“यस क्षेत्रमा आकर्षण बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने, “पर्यटक पथप्रदर्शक तयार गर्नका लागि राज्यका तर्फबाट विभिन्न किसिमका तालिम सञ्चालन गरिनु अपरिहार्य छ ।”

धेरै सम्भावना भएर पनि पर्वतारोहण पर्यटनको गण्डकी प्रदेशमा आकर्षण बढ्न नसकेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए । हिमाल आरोहणमा आकर्षण बढाउन सकेमा त्यसले गण्डकीको पर्यटनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेशमा ठूलासाना गरी धेरै हिमाल रहेका कारण यहाँ पर्वतारोहण पर्यटनको धेरै सभ्मावना रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । 

“यहाँका हिमाल तथा चुचुरालाई पर्यटन जोड्नका लागि पर्वतारोहण शिक्षा दिने शिक्षालय आवश्यक छ”, उनले भने, “सामान्य हिमाल आरोहणका लागि पनि पर्यटक पथप्रदर्शक काठमाडौँबाट ल्याउनुपर्ने अवस्था अन्त्य गर्न आहरोणबारे सिकाउनका लागि शिक्षालय अपरिहार्य छ ।” आरोहणका लागि आवश्यक दक्ष जनशक्ति यही तयार भएमा गण्डकी प्रदेशमा यसतर्फको आकर्षण बढाउन सकिने उनले बताए । 

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया