सम्पादकीय—लैंगिक हिंसा घटाउने जिम्मेवारी

समाधान संवाददाता २०८२ मंसिर १० गते १०:२७

संसारभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ल्याटिन अमेरिकी देश डोमिनिकन सिटीमा सन् १९६० मा हत्या गरिएका तीन दिदीबहिनीको सम्झनाको ऐतिहासिक सन्दर्भ जोडिएको यो लैंगिक हिंसाविरुद्धको अभियान समानता, न्याय र मानव अधिकारको पैरवी गर्ने अवसर हो । समानतामूलक समाजको चाहना राख्ने हरकोही नागरिकका लागि यो विशेष अभियानको बनेको छ ।

महिला भएकोले भोग्नुपरेका अतिरिक्त बर्बरतापूर्ण यातना र हत्याको सन्दर्भलाई जोडेर विश्वभर महिलाबिरुद्ध हुने हिंसाबिरुद्ध सरकार र नागरिक समुदायको ध्यानाकर्षण गराउने दिनको रुपमा लिने गरिन्छ । समाजमा विद्यमान लंैगिक विभेदबाट महिलामात्र होइन, पीडित पुरुष पनि छन् तर त्यसको कैयौं गुणा बढी पीडित महिला छन् । प्रहरी, संघ, संस्थामा आउने हिंसा प्रभावितहरु हेर्दा घरभित्र हुने हिंसा बढी देखिने गरेको छ भने त्यस्तो हिंसाको पीडकका रुपमा धेरै पुरुष छन् । तर लंैगिक हिंसाविरुद्ध खुलेर बोल्नेमा महिलाको तुलनामा पुरुष निकै कम छन् ।


समाजमा लंैगिक हिंसाविरुद्ध बोल्ने महिलालाई पुरुष विरोधीको रुपमा चित्रित गरिँदै आएको छ । महिला होस् या पुरुष, हिंसा कसैले कसैलाई गर्नु हुँदैन । त्यसैले हामी सबैले यो बुझ्नुपर्छ, लैंगिक हिंसाको विरोध गर्नेहरु पुरुष विरोधी होइनन्, बरु न्यायपूर्ण समाजका पक्षपाती हुन् । लैंगिक हिंसाको सन्दर्भमा सबै पुरुष पीडक सबै महिला पीडित, कुरा यसो पनि होइन । असमान शक्ति सम्बन्धमा आधारित हाम्रो पारिवारिक सामाजिक संरचनामा शक्तिका हिसाबले जुन जहाँ तल छ उसैले हिंसा खेपिरहेको छ । त्यस्तो हिंसाले सम्बन्धित व्यक्तिलाई मात्र होइन, सिंगो परिवार समाजलाई असर गरिरहेको हुन्छ भन्ने कुरा सबैले बुझ्नु अनि बुझाउनुपर्छ । नेपाली समाजमा यस्तो हिंसा प्रभावित महिला तथा बालिका सहजै खुलेर आफ्नो पीडा पोख्न सक्ने अवस्था अझै छैन । पारिवारिक, सामाजिक इज्जत प्रतिष्ठासँग जोडिएर हेर्ने प्रचलनले पनि बहुसंख्यक महिला तथा बालिका सकेसम्म हिंसा सहेरै बस्ने गरेको देखिन्छ ।

Advertisement


पछिल्लो समय महिला सशक्तीकरणमा भएको प्रगति र महिला हिंसासम्बन्धी कानुनी, सहयोगी संरचनाले गर्दा उजुरीको संख्या बढ्दै गएको पनि छ । दैनिकजसो सार्वजनिक भइरहने महिलाविरुद्धका जघन्य हिंसाका घटना र ती घटनामा प्रकट हुने महिलाद्वेषी टिप्पणीले नेपाली समाज अहिले पनि कतिसम्म महिलाप्रति असहष्णिु छ भन्ने नै देखाउँछ । लिंगका आधारमा हुने हिंसाले व्यक्तिको स्वतन्त्रता, मर्यादित जीवन र समाजमा आत्मसम्मानसहित बाँच्न पाउने हक कुण्ठित गर्छ । घरदेखि सार्वजनिक र कार्यस्थलमा समेत महिलामाथि बढिरहेका हिंसाका घटनाले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मान, परिवार र अन्तत समाजमा प्रत्यक्ष असर पारेको छ भने देशको विकास, उत्पादन र नयाँ पुस्तामा समेत प्रत्यक्षरुपमा नकारात्मक प्रभाव पारेको छ । यो अभियान लैंगिक हिंसाका कारण पहिल्याउन र ती कारण संबोधनका उपाय पहिल्याउन केन्द्रीत हुनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया