औद्योगिक व्यापार मेलामा १९८ स्टल

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिरको तेस्रो साता नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२ हुँदै छ । मंसिर १७ देखि २२ गतेसम्म पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा मेला हुने संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मेलाको सहआयोजकमा कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । यस पटक डोममा ७८ र बाहिर १ सय २० स्टल राखिने छन् । पोखरा लगायत राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन र बजारीकरणमा सघाउन पुर्याउनका लागि मेला आयोजना गरिएको अध्यक्ष कार्कीले सुनाए ।
मेलामा क्यानसँग आवद्ध तथा सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्ला समयका प्रविधि, दैनिकी जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी र बिक्रीका लागि राखिनेछन् । मेलालाई स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन र प्रचार–प्रसारमा योगदान पु¥याउने उद्देश्य रहेको उनको भनाइ छ । मेलाले पोखराको पर्यटन तथा व्यापार प्रवद्र्धनसँगै उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्ने आयोजकको अपेक्षा छ ।
६ दिनसम्म चल्ने मेलामा प्रवेश निशुल्क गरिएको छ । मेलामा उद्यमशीलता प्रवद्र्धन, लगानीमैत्री नीति निर्माण, नवप्रवर्तन, सूचना प्रविधि, कृषिसँग सम्बन्धित परिसंवाद पनि गरिने अध्यक्ष कार्कीले बताए । परम्परागत मेला र जात्रालाई परिमार्जन गर्दै पोखरा उद्योग वाणिज्य संघले नेपालमै पहिलोपटक २०४२ सालमा व्यापार मेलाको आयोजना गरेको थियो ।
२०४९ सालदेखि यसलाई ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ नाम दिइयो भने २०५२ सालमा ‘पोखरा महोत्सव’ को सुरुवात भयो । त्यसयता संघले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र अन्य संस्थासँग सहकार्य गर्दै हस्तकला मेला (२०५३), पुष्प प्रदर्शनी (२०५५), महिला उद्यमी मेला (२०६८, २०७०, २०७४, २०७६) लगायत विभिन्न महत्वपूर्ण मेला तथा प्रदर्शनी आयोजना गरेको छ । कोभिड १९ का कारण अवरुद्ध भएको मेलालाई संघले २०७९ सालदेखि पुनः निरन्तरता दिएको हो ।
संघकी महासचिव शोभा गौतमका अनुसार यस पटकको मेलामार्फत उद्योग व्यवसायको समुचित विकास, स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन, आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापनलाई प्राथमिकता दिइएको छ । मेलालाई केवल मनोरञ्जनात्मक नभई उद्यमशीलता विकासको थलो बनाउन प्रयास भइरहेको उनले बताइन् ।
मेला सञ्चालनका लागि ४५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ५० लाख आम्दानी गर्दै ५ लाख बचत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया