‘हरेक १० मिनेटमा १ महिलाको हत्या’

संयुक्त राष्ट्रसंघ ।
गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।
संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) ले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिका आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो ।
प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त—जस्तै बुबा, काका, आमा, दाइ–भाइ—द्वारा ज्यान दिइएको उल्लेख गरेको छ । तुलनात्मक रुपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए ।
१ सय १७ देशबाट संकलित तथ्यांकका आधारमा तयार गरिएको उक्त प्रतिवेदन अनुसार दैनिक करिब १ सय ३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा १ जना नारीहत्या अपराधको सिकार बनिरहेका छन् । सन् २०२३ मा सार्वजनिक भएको तथ्यांकभन्दा संख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने संकेत नभएको, बरु फरक–फरक देशबाट उपलब्ध हुने तथ्यांकमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।
अध्ययनले चेतावनी दिँदै ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बनेको छ’ भन्दै प्रत्येक वर्ष दशौँ हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ । विश्वका कुनै पनि क्षेत्रमा नारीहत्या शून्य नभएको प्रतिवेदनले बताउँछ । तर अफ्रिकामा गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रभन्दा उच्च संख्या दर्ता भएको उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका गम्भीर चिन्ता व्यक्त गर्दै भनिन्, ‘नारीहत्या एक्लै घटित हुँदैन । यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार र अनलाइनसँगै अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू देखिन सक्छन्, जसको अन्त्य घातक हिंसामा पुग्न सक्छ ।’
प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध—जस्तै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डिपफेक भिडियो—जस्ता खतरनाक रुपहरु समेत जन्मिएका छन् ।
हेन्ड्रिक्सले थपिन्, ‘हामीलाई अनलाइन र अफलाइन दुवै क्षेत्रमा महिलामाथि कसरी हिंसा फैलिन्छ भन्ने पूर्ण रूपमा बुझेर त्यस अनुरुप कडा कानूनी कार्यान्वयन आवश्यक छ । अपराधीहरु घातक हिंसामा उत्रनु अघि नै स्पष्ट रुपमा जवाफदेही बनाइनुपर्छ ।’ एएफपी









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया