‘रत्यौली अहिले दिन्यौली भएको छ’

पोखरा ।
अन्नपूर्ण गाउँपालिका १ नौंडाँडामा ‘मेरो सम्पदा, मेरो आवाज- महिला मुखी र समावेशी रत्यौली अभ्यासतर्फको नयाँ अध्याय’ शीर्षकमा तीन दिने कार्यशाला बिहीबारदेखि सुरु भएको छ।
एम्लीफाइहर परियोजनाअन्तर्गत फिनल्यान्ड अनुसन्धान परिषदको आयोजनामा तथा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र सञ्चारिका समूह गण्डकीको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
संस्कृतविद् प्राडा कुशुमकार न्यौपानेले रत्यौलीलाई राति गाइने र यसमा रती त्रीडाको व्याख्या गरिने भएकाले ‘रत्यौली’ भन्ने नाम राखिएको बताए।
‘पहिलाका रत्यौली गीतहरू सिस्टममा हुन्थे, अहिले त रत्यौली दिन्यौली भइसके,’ उनले भने, ‘यसको आफ्नै पहिचान र अनुशासन छ, मौलिकता हराउन दिनुहुँदैन। हिन्दी–इङ्ग्लिस गीत मिसाउन थालिएको छ, त्यो सही होइन।’
रत्यौली प्रतियोगिता बढ्दै गए पनि धेरै स्थानमा वेथिति देखिएको उल्लेख गर्दै उनले यसलाई आदर्शको बाटोमा लैजानुपर्ने बताए ।
साहित्यकार गायत्री पराजुलीले रत्यौली महिलाले आफ्नो पीडा पोख्ने माध्यम भएको बताइन्। ‘यसलाई परम्परागत गीत भनेर संरक्षण गर्न पाए राम्रो हुने उनकाे भनाइ छ ।
महिलामा सम्पूर्ण सिप नभएकाले पुरुष पनि सहभागी हुने तर परम्परा बिग्रने जोखिम रहने बताउँदै उनले पुरुषलाई पनि सहभागी गराउन सके संरक्षणमा अझ मद्दत पुग्ने उनको धारणा छ।
उनका अनुसार रत्यौली महिलाको स्वर तथा भाव बोकेको सांस्कृतिक अभिव्यक्ति भएकाले यसको महत्त्व अझ बढेको छ।
‘महिलाले गाउने र महिलाको गीत भएकै कारण सरकारको ध्यान नपुगेको जस्तो लाग्छ,’ उनले भनिन्। रत्यौलीलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने सुझाव पनि उनले प्रस्तुत गरिन्।
जातीय–संगीत विज्ञ तथा संगीत सम्पदा अभियन्ता पुष्पा पलाञ्चोकेले रत्यौलीलाई सरस्वतीको प्रतीकका रूपमा बुझिनुपर्ने बताउँदै ‘यसलाई किन फोहोर भनेर व्याख्या गर्ने?’ प्रश्न गरिन्।
रत्यौली परम्परा मात्र नठानी सम्पदा भनेर बुझ्नुपर्ने उनकोभनाइ छ । राम्रो शब्द प्रयोग गरेर, यसको मौलिकता जोगाएर संरक्षण गर्नुपर्ने उनले जोड दिइन्।
कार्यक्रम युनिभर्सिटी अफ द आर्ट्स हेलसिन्कीको सिबेलियस एकेडेमीको आर्थिक सहयोगमा सञ्चालन भएको हो। कार्यशालामा पोखराका विभिन्न आमा समूहका सदस्यहरुको सहभागिता छ।
कार्यक्रममा सारदा डंगाेलले मादल प्रशिक्षण र कलाकार दीया मास्केले नृत्य नाट्यका प्रशिक्षण, कविता विधामा साहित्य श्रष्टा उज्वला महर्जनले प्रशिक्षण दिनेछन्।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव सोभा गौतम, सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघकी कार्यक्रम संयोजक प्रतिक्षा रानाभाट, सेवा भट्टराई, बुनु ढुंगाना लगायतको उपस्थिति थियो।
तीन दिने कार्यशाला मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ।










चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया