भूमिका लिम्बु सुब्बाको यात्रा

कलाकार, समाजसेवी र उद्यमीसम्म

समाधान संवाददाता २०८२ मंसिर १५ गते १७:५०

Advertisement

मधु शाही / रासस
काठमाडौँ ।
‘चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए,
काम सानो ठूलो हुन्न भन्ने युवा भए
सकिन्छ, समृद्ध नेपाल बनाउन
सकिन्छ सुखी नेपाली बनाउन…’

Advertisement

गायिका भूमिका लिम्बु सुब्बाले यो गीत त्यतिबेला लेखेकी थिइन्, जतिबेला युवाहरुको ठूलो जमात रोजगारका लागि विदेसिने क्रम बढ्दै थियो । त्यही युवामा आएको उदासीन अवस्था, गाउँपाखा रित्तिदै गएको दृश्य र रोजगारीका लागि भौंतारिएका युवाहरुको मुहार देखेर उनको कलमले यो गीत रच्यो । प्रेरणा, उत्साह र स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने हेतुले सुब्बाले कलम चलाइन् । ‘कलाकारले गर्ने यही हो, रचनाबाटै रुपान्तरण ल्याउन जोड दिनुपर्छ’, उनी भन्छिन्, ‘मैले लेखेजस्तै, सायद युवाहरुले स्वदेशमै सम्भावना खोज्ने भए, मुलुक समृद्धितिर जान बेरै लाग्दैन नि ।’ कलाकारको हातमा सबै हुँदैन तर परिवर्तनका लागि एउटा रचनात्मक भूमिका भने खेल्न सक्छ । त्यस्तो रुपान्तरण जहाँ समाजको विचार, परिस्थिति, संस्कृति परिवर्तन गर्न मद्दत गर्छ ।

सुब्बाले समाज परिवर्तनका लागि कलामार्फत भूमिका निर्वाह गर्दै आएको सानैदेखि हो । कलामा उनको निरन्तर लगाव रहेको छ । जहिलेदेखि उनलाई कलाप्रति रुचि र जाँगर चल्न थाल्यो, त्यतिबेलादेखि नै सुब्बा गीत गुनगुनाउन थालेकी हुन् । उनको गायन तथा लेखन कलामा समाजको चिन्तन छ । यसो त सुब्बाको बाल्यकालको रुचि नाच्ने, गाउने हो ।

झापामा जन्मेकी उनको ११ वर्षको कलिलो बालपनमै अंकुराएको कलाप्रतिको रुचि विस्तारै समयसँगै उचाइमा पुग्न थाल्यो । हालसम्म एक दर्जनभन्दा बढी गीत रचना रचेकी स्रष्टा सुब्बालाई कला क्षेत्रमा फाइदा लिनुभन्दा पनि यस क्षेत्रमा केही योगदान दिनुमा जोड छ । बाल्यकालमा कलाकार दाजुको औँला समाउँदै गाउँमा हुने सांस्कृतिक कार्यक्रममा नाच्न जाँदाका क्षण अहिले उनलाई सपना जस्तै लाग्छ । ‘त्यो बालापन अब कहाँ फर्किनु ?’ उनी भन्छिन्, ‘दाजु नभएको भए, उ बेला छोरीलाई नाच्न सजिलो थिएन, दाजुकै औँला समाएर कलाकारितामा लागेँ ।’

नाच्ने र गाउने प्रतिभामा पोख्त भएकी सुब्बा भने अहिले गीत सिर्जनामा बढी प्राथमिकता दिन थालेकी छिन् । यो उनको रहर नभई बाध्यता हो । घाँटीमा आएको समस्याले गर्दा गाउन कठिन भयो उनलाई । नाच्न पनि समय सँगै हराउँदै गयो । तर, लेखन कलालाई मन र इच्छा रहेसम्म केहीले छेक्दो रहेनछ । सुब्बा मनमा आएका भाव, समाजमा देखेका घटना, भोगेका अनुभूतिहरुलाई गीत रचनामार्फत अभिव्यक्त गर्न सिपालु छिन् । उनी समाजमा देखेका र सुनेका अनेक घटनालाई आधार बनाएर जनजागरण जगाउने गीत रच्न रुचाउँछिन् । उनले रचेका हरेक गीतमा कुनै न कुनै कथा र भाव समेटिएको हुन्छ ।

उनले रचेको ‘देश जल्दा…’ गीतकै कथा निकै मर्मस्पर्धी छ । त्यसबेला तराई राजनीतिको द्वन्द्वमा जलिरहेको थियो । चाहे त्यो तराई होस्, पहाड होस् या हिमाल । नेपाल नै जलेको हो भन्ने उनलाई भान भयो । त्यो द्वन्द्वको रापसँगै सुब्बाको मन पनि जलिरह्यो । जसरी जेन्जी आन्दोलनमा देश जलिरहँदा रातभरि कोही नेपाली निदाउन सकेनन् । त्यसैगरी तराईमा घटेको राजनीतिक आगोको रापमा सुब्बाले पीडा बोध गरी ‘देश जल्दा हाम्रो पनि मुटु जल्नुपर्छ…’ गीत जन्माएकी हुन् । ‘हामी कलाकारका लागि गीत रच्नु भनेको सन्तान जन्माए जस्तै अमूल्य हुन्छ’, उनले भनिन्, ‘मैले यो गीत लेख्दा शब्दसँगै आँसु पनि बगाएको थिएँ, चुपचाप मौन रोएकी थिएँ ।’

‘अर्को गीत बन चरी…’, मा सुब्बाको माइती सम्झना छ । गायिका एलिना चौहानले गाएको उक्त गीत निकै लोकप्रिय छ । यो गीत लेख्दा सुब्बा माइतीदेखि घर जाँदै गर्दा भावुक भएको चेली वेदनालाई गीत बनाएको बताइन् । ‘आमाबुबा र माइतीको सम्झनाले चेलीलाई सधैँ भावुक बनाउँछ । मैले माइतीबाट घर फर्किने बेला गाडीमा बस्दै मनभरि यस्तै भावना खेलाउदै फर्किएकी थिएँ’, उनले भनिन्, ‘अन्तिममा गीत नै बनाएँ ।’ उनका हालसम्मका एल्बमहरु ‘हाम्रो स्वरहरु’, ‘खै झुप्राहरुमा’, ‘भेडेटार’, ‘नरोए आमा’, ‘लिम्बु गीत सेवारो’, ‘धर्तीलाई माया गर्नेहरु’, ‘कोटीकोटी प्रणाम मेरो हिमाललाई’, ‘मेरै त हो महाकाली मेरो कालापानी’ लगायत दर्जनौं रचना एवं एल्बमहरु रेकर्ड भएका छन् ।

धेरै कलाकारका लागि चर्चा कमाउने, लोकप्रिय बन्ने र आयआर्जनमा वृद्धि गर्ने मोह हुन्छ । तर, सुब्बाको हकमा यो खासै महत्वमा छैन । उनका लागि कलाकारिता व्यक्तिमुखी हुनुभन्दा पनि समाज रुपान्तरण केन्द्रीत हुनुपर्ने प्रष्ट धारणा छ । त्यसैले आफूले सिर्जना जुनसुकै रचनाले समाजमा, युवा वर्गमा केही न कही जागरण ल्याउनुपर्ने मान्यता राख्छिन् । र यही मान्यताका आधारमा उनले निरन्तर रचना कोरिरहेकी हुन् । उनी दुई गीत छिटै सार्वजनिक गर्ने तयारीमा छिन् । उनका अनुसार समाजमा व्याप्त महिलामाथि भइरहेको शारीरिक र मानसिक हिंसाविरुद्धका गीत बन्दैछ । ‘महिला हिंसा जहाँ त्यहीँ छ, गाउँ घरदेखि शहरसम्मै’, उनी भन्छिन्, ‘हिंसा हुनु भनेको चेतनाकै अभावका कारण त हो । मेरो गीत सुनेर केही परिवर्तन ल्याउन सक्छ कि भन्ने प्रयासमा रचेकी हुँ । छिट्टै दर्शकमा ल्याउँदैछु ।’

सुब्बाले २०५४ सालमा रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगिता पुरस्कार एवं सम्मान प्राप्त गरेकी थिइन् । देश तथा विदेशमा सांगीतिक कार्यक्रमको अनुभव बटुलेकी उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य समेत रहिन् । त्यस्तै, चलचित्र जाँचपास समितिको पूर्व सदस्य रहेकी उनीसँग नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाल एफएममा समेत ‘आर–जे’ बनेको अनुभव छ । यद्यपि, सुब्बाको गहिरो र दीर्घकालीन रुचि भने गीत संगीतमा छ । उनी भन्छिन्, ‘गीत लेख्दा हल्का महसुस गर्छु ।’ गीत संगीतमा योगदान दिएवापत उनलाई गौरवशाली नारी सम्मान, बेस्ट म्युजिक स्टुडेन्ट, मधुरिमा सम्मान, तीज विशेष नारी सम्मान, वेस्ट जुरी अवार्डलगायत थुप्रै उपाधिले सम्मान गरिएको छ ।

सुब्बा एकातिर गीत लेखेर समाजलाई जागृत बनाउन रचनात्मक अभियानमा छिन् भने अर्कोतिर समाजसेवा गरेर दीनदुःखीको घाउमा मल्हम लगाउने भूमिका पनि सँगसँगै निर्वाह गर्दै आएकी छिन् । समूह पाँचथर संस्थाको अध्यक्ष रहेकी उनले संस्थामार्फत आफ्नो क्षेत्रका गरिब, जेहेनदार र असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र हेरचाहमा सहयोगी बनेकी छिन् । ‘गाउँघरका केटाकेटीहरु कापी कलम नभएर स्कुल जान पाएका छैनन्, नाङ्गैभोकै छन्’, उनी भन्छिन्, ‘त्यो देख्दा हामीले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन आउँछ भन्ने लाग्छ । त्यसैले समाजसेवा पनि गर्दै आएकी छु ।’

समाज सेवा गर्न आफैँ सक्षम हुनुपर्छ । यो कुरा सुब्बालाई राम्रोसँग थाहा छ । उनले संस्थामार्फत सामूहिक सहयोगको अपिल गर्दै आर्थिक संकलन गरेर बेलाबखत प्रकोपमा परेका पीडित समुदायलाई राहत वितरण गर्ने जिम्मेवारी पनि पूरा गरेकी छिन् । त्यस्तै, कोभिडको बेलामा खाद्यान्न राहत वितरणमा समेत उनको संस्थाले अहम् भूमिका खेलेको बताउँछिन् । ‘दातृ निकायबाट चलाउने भनेको क्षणिक हुन्छ,’ उनले भनिन्, ‘हामी संस्थाकै साथीहरु मिलेर आर्थिक संकलन गरि समाजसेवा गर्दै आएका छौँ ।’

त्यस्तै, कलाकार, समाजसेवीदेखि सुब्बाको अर्को भूमिका पनि छ । त्यो हो, व्यवसाय । उनी सक्षम र अब्बल महिला व्यवसायी हुन् । ‘पूर्वेली अर्गानिक कफी उत्पादन तथा प्रशोधन’ कम्पनीको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएकी सुब्बाले महिला आर्थिक सशक्तीकरणमा बलियो बनाउन सके समाजका हिंसात्मक गतिविधिको न्यूनीकरण गर्न सम्भव हुने धारणा राख्छिन् । आयआर्जनको बाटो बलियो भयो भने महिला मुक्ति कहाँ सम्भव हुन्छ र ? सुब्बाको अनुभवले यही बुझेको छ । उनी भन्छिन्, ‘महिलाले आँटे केही कुरा असम्भव छैन ।’ रासस

तपाईको प्रतिक्रिया