‘अन्तर्दृष्टि पुरस्कार’ घोषणा : पत्रकार आरती चटौतसहित ३ जना पुरस्कृत हुने

काठमाडौं । पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोण विकास गर्न भूमिका खेलेको भन्दै नेपाल टेलिभिजनकी आरती चटौतलाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । उनलाई १५ हजार रुपैयाँ राशिसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । समितिले खोज, अन्वेषण एवं अपांगता भएकाहरूको असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने पत्रकारहरूमध्येबाट उनलाई छनोट गरेको हो ।
यस्तै, ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ बागमती प्रदेशको काठमाडौंस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयका शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिनेछ । देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा उनलाई छनोट गरिएको हो । शिक्षण सिकाइ क्रियाकलाप, सामाजिक व्यवहार र अपाङ्गताप्रतिको सोचलाई आधार मानेर विद्यार्थीले उनलाई उत्कृष्ट शिक्षकका रूपमा छनोट गरेका हुन् । यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
दृष्टिविहीन विद्यार्थीहरूसँग हातेमालो गर्दै सहयोगी भूमिका निर्वाह गर्ने विद्यार्थीलाई दिइने ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ ल्याबोरेटरी माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत प्रसिखा भट्टराईलाई दिइने भएको छ । अपाङ्गता नभएका विद्यार्थीले दृष्टिविहीन साथीहरूलाई गर्ने सहयोग, व्यवहार र सिकाइ आदानप्रदानलाई आधार मानेर उनलाई छनोट गरिएको हो । यो पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।
डा. कमल लामिछानेले २०७७ सालमा स्थापना गरेको यो पुरस्कारको मुख्य उद्देश्य अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक र विभेदपूर्ण सोचमा परिवर्तन ल्याउनु हो । समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान स्वीकार गर्दै सँगसँगै हिँड्न प्रेरित गर्ने हेतुले यो पुरस्कार स्थापना गरिएको हो ।
घोषणा गरिएका सबै पुरस्कार वसन्त पञ्चमीका दिन प्रदान गरिने पुरस्कार समितिले जनाएको छ । पुरस्कार छनोटका लागि डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापा सम्मिलित समिति सक्रिय थियो । शिक्षक र विद्यार्थी छनोटका लागि सर्वेक्षण विधि अपनाइएको थियो भने पत्रकारिता पुरस्कार समितिको निर्णयका आधारमा तय गरिएको हो । समितिले छनोट प्रक्रियामा सहभागी विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनप्रति आभार व्यक्त गरेको छ ।









मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया