क्यानका महानिर्देशक प्रदीप अख्तियारको नियन्त्रणमा, भ्रष्टाचार मुद्दाको तयारी

समाधान संवाददाता २०८२ मंसिर १७ गते १४:१४


काठमाडौं

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारीसँगै अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

विश्वस्त स्रोतका अनुसार आयोगले अधिकारीविरुद्धको अनुसन्धान पूरा गरी मुद्दा दर्ताका लागि आवश्यक सबै प्रक्रिया सकाएको छ । सोही प्रयोजनका लागि उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

महानिर्देशक अधिकारी लामो समयदेखि विभिन्न आयोजनामा अनियमितता गरेको आरोपमा विवादित बन्दै आएका थिए । विशेषगरी राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितता र गुणस्तरहीन काममा उनको संलग्नता रहेको आशंका गरिँदै आएको थियो ।

Advertisement

पोखरा विमानस्थल निर्माण सम्पन्न नहुँदै हतारमा उद्घाटन गराएको र क्यालिब्रेसन फ्लाइट लगायतका प्राविधिक पक्षमा खेलबाड गरेको आरोप उनीमाथि छ । साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार र टर्मिनल भवन निर्माणका क्रममा समेत मिलेमतो गरेको उजुरी अख्तियारमा परेको थियो ।

अधिकारीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकाय अलग–अलग बनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र सरकारको नीतिको खुलेर विरोध गर्दै आएका थिए । प्राधिकरण टुक्र्याउने विधेयक संसदमा पेस हुन लाग्दा उनले विभिन्न शक्तिकेन्द्र प्रयोग गरी त्यसलाई रोक्न भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।

शक्तिको आडमा नियम मिचेर ठेक्कापट्टा लगाउने र आफू अनुकूल निर्णय गराउने गरेको भन्दै उनी आलोचित थिए । अख्तियारले कुन–कुन आयोजना र कति रकम बराबरको बिगो दाबीसहित मुद्दा दायर गर्दै छ भन्ने विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया