विश्वासको मत नपाउने देखेपछि मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

पोखरा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने निश्चित भएपछि उनले बुधबार पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामा दिएको बताए । आफूले सत्ता लम्ब्याउन नचाहेको भन्दै उनले आजै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाउने जानकारी सदनलाई गराए ।
यसअघि सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । अदालतको आदेश पालना गर्दै बुधबार बिहान बैठक बोलाइए पनि सत्तापक्षकै सांसद अनुपस्थित हुने देखिएपछि बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर, सत्ता साझेदार दलबाट मात्रै विश्वासको मत प्राप्त नहुने निष्कर्ष निकाल्दै उनले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।
यादव संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गत कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको नेताको हैसियतमा उनलाई नियुक्त गरेकी थिइन् । तर, उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रदेशका ७ दलका ७४ सांसद सर्वोच्च अदालत पुगेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंसिर १५ गते विश्वासको मत लिन आदेश दिएको थियो ।
मुख्यमन्त्रीले राजीनामा घोषणा गरेको बैठकमा मन्तव्य राखिरहँदा विपक्षी ७ दलका सांसदहरूले भने बैठक बहिष्कार गर्दै बाहिरिएका थिए । यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको ढोका खुलेको छ । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया