चिल्ड्रेन नेपालको २९ औं साधारणसभा

समाधान संवाददाता २०८२ मंसिर २१ गते ६:१५

पोखरा ।  बालअधिकार र सामाजिक विकासको क्षेत्रमा क्रियाशील संस्था ‘चिल्ड्रेन–नेपाल’ ले पोखरामा २९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पोखराको मासबारस्थित संस्थाको कार्यालयमा शुक्रबार आयोजित सभाले वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उत्कृष्ट कर्मचारी र उत्पादकलाई सम्मान गरेको हो ।

साधारणसभामा उत्कृष्ट कार्यसम्पादनको आधारमा लेखा तथा प्रशासन अधिकृत हरिप्रसाद पोखरेल र भण्डार सहायक होममाया कार्कीलाई नगद, दोसल्ला र प्रशंसापत्रसहित ‘उत्कृष्ट कर्मचारी’ को रूपमा सम्मान गरियो ।

Advertisement

त्यस्तै, संस्थाद्वारा सञ्चालित सूर्यमुखी हस्तकला कार्यक्रमतर्फ रूपा विक ‘उत्कृष्ट उत्पादक’ का रूपमा सम्मानित भइन् । उनलाई पनि नगद र दोसल्ला प्रदान गरिएको थियो । संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन नेतृत्वदायी भूमिका खेलेको भन्दै निवर्तमान अध्यक्ष एवं संरक्षक भीमलाल गुरुङलाई विशेष सम्मानपत्र प्रदान गरिएको छ ।

सभाले महासचिव जयेन्द्र भट्टराईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुलप्रसाद पौडेलले पेस गरेको आर्थिक प्रतिवेदन तथा आव २०८२/८३ को प्रस्तावित बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

Advertisement

कार्यक्रममा संस्थाको वार्षिक मुखपत्र ‘उज्यालोको खोजी २०८२ अंक १६’ को विमोचनसमेत गरिएको थियो । अध्यक्ष शान्त पौडेल, संरक्षक भीमलाल गुरुङ र कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै कार्यकारी निर्देशक शर्माले विसं २०५२ मा स्थापना भएदेखि नै संस्थाले जोखिममा परेका बालबालिका, महिला र सीमान्तकृत समुदायको उत्थानमा काम गर्दै आएको बताए । ‘हजारौँ बालबालिका र तिनका परिवारलाई सेवा दिन पाउनु खुसीको कुरा हो,’ शर्माले भने, ‘संस्थाको दिगोपन र आत्मनिर्भरताका लागि कर्मचारी र सरोकारवालाको भूमिका महत्त्वपूर्ण छ ।’

संस्थाका अध्यक्ष शान्त पौडेलले सामूहिक प्रयास र समर्पणले नै संस्थाले सफलता हासिल गरेको बताए । पूर्वसल्लाहकार धनेश्वर रखालले संस्थाले सामाजिक र आर्थिक रूपान्तरणमा पुर्‍याएको योगदानको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद खराल र कार्यसमिति सदस्य मीना भण्डारीले गरेका थिए ।


तपाईको प्रतिक्रिया