बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना ‘बेनी–जोमसोम–कोरला सडक’ खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । भारत र चीन जोड्ने यो व्यापारिक मार्गमा थप तीनवटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
विसं २०७३/७४ देखि सुरु भएको कालीगण्डकी करिडोरअन्तर्गतको यो आयोजनाले म्याग्दी र मुस्ताङ खण्डमा हालसम्म १३ पुल निर्माण सकेर हस्तान्तरण गरिसकेको जनाएको छ ।
आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार निर्माणाधीन तीन पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी छ । मुस्ताङको थासाङ–४ स्थित कैकुखोला, थासाङ–२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड–२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा छन् ।
‘निर्माणाधीन तीनवटै पुलको फाउन्डेसन र स्ल्याब ढलान भइसकेको छ, अहिले एप्रोज सडक र फिनिसिङको काम बाँकी छ,’ इन्जिनियर चापागाईँले भने, ‘चालु आर्थिक वर्षभित्रै काम सकेर आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य छ ।’
तीन पुलको ठेक्का रद्द
निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्का कारण तीनवटा पुलको ठेक्का भने तोडिएको छ । म्याग्दीको अन्नपूर्ण–३ स्थित रुप्सेखोला, मुस्ताङको थासाङ–४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको सम्झौता रद्द गरिएको इन्जिनियर चापागाईँले जानकारी दिए ।
कुन–कुन पुल बने ?
आयोजनाका अनुसार म्याग्दी खण्डमा राहुघाट र घट्टेखोलाको पुल सम्पन्न भइसकेका छन् । यस्तै, मुस्ताङ खण्डमा लेतेखोला, सेतोखोला, छाक्ताङ खोला, मार्फाखोला, स्याङखोला, पान्डाखोला, छुसाङ नरसिंह खोला र चराङखोला पुल निर्माण भइसकेका छन् ।
माथिल्लो मुस्ताङका लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल पनि सम्पन्न भई हस्तान्तरण भइसकेको आयोजनाले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै ६ वटा पुल सम्पन्न भएका थिए ।
बेलिब्रिज र अन्य निकायका पुल
कोरला सडक आयोजनाले ६ स्थानमा बेलिब्रिज जडान गरेको छ । म्याग्दीको बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी तथा पहिले नै निर्माण भएका घट्टेखोला र टुकुचेको थापाखोलामा बेलिब्रिज सञ्चालनमा छन् । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की गरी कुल १९ पुल तयार पारेको छ ।
यसबाहेक पुल सेक्टर कार्यालय पोखरा र अन्य निकायमार्फत पर्वतदेखि मुस्ताङसम्म ८ वटा पक्की पुल निर्माण भएका छन् । जसमा पर्वतका दमुवा, लस्ती, मिलनचोक र म्याग्दीका बेगखोला, तिप्ल्याङ, पोखरे बगर तथा जोमसोमको कालीगण्डकी पुल पर्छन् । जोमसोमको पक्की पुल भारतीय दूतावासको सहयोगमा निर्माण भएको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया