अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा सन् २०२५ को पछिल्ला ११ महिनामा २ लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् ।
गत जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा भित्रिएका पर्यटकमध्ये १ लाख १५ हजार ५५५ तेस्रो मुलुकका र बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका हुन् ।
आयोजना प्रमुख डा. रबिन कडरियाका अनुसार यो वर्ष सबैभन्दा बढी अप्रिल महिनामा ४४ हजार ७६३ पर्यटक आएका छन् भने जनवरीमा सबैभन्दा कम ९ हजार ३५९ जनाले भ्रमण गरे ।
फेब्रुअरीमा १२ हजार ६८, मार्चमा ३६ हजार ८३४, मेमा ३४ हजार ७१६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २३३, अगस्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टोबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको तथ्यांक छ ।
सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले भ्रमण गरेकामा सन् २०२५ मा पर्यटक आगमन बढेको हो । गत सेप्टेम्बर र मे महिनामा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अन्य महिनामा संख्या बढेको कडरियाले बताए । जाडो याम सुरु भएसँगै पर्यटक आगमन घट्ने र मार्चपछि पुनः बढ्ने उनको भनाइ छ ।
सामान्यतया सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्म विदेशी पर्यटकको आगमन उच्च हुने गर्छ । मुक्तिनाथलगायतका गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गर्छन् भने अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन् ।
आयोजना कार्यालयले विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरे पनि सडक मार्ग भएर मुस्ताङलगायतका गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बर्सेनि बढ्दो छ । आयोजनाका अनुसार सन् २०२३ मा १ लाख ९१ हजार ६६६ विदेशी पर्यटक आएका थिए । कोरोना महामारीका कारण सन् २०२० मा १८ हजार ८३६ मा खुम्चिएको पर्यटक संख्या त्यसयता लगातार उकालो लागेको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्य पर्छन् । यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । रासस









‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया